ताजा अपडेट »

लुम्बिनीको बाँकेमा बल्झिँदै कोरोना सङ्क्रमण

शुक्रबार, ०३ बैशाख २०७८

राँझा । कोरोना भाइरस–१९ को शुरुआतमै गत वर्ष केन्द्रबिन्दु बनेको लुम्बिनी प्रदेशको बाँकेमा अहिले सङ्क्रमण बल्झिएको छ । बितेको सात दिनमा ३६६ सङ्क्रमित थपिएको बाँकेमा बुधबारको परीक्षणमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, गत वर्ष कोरोना महामारीले सताएको बाँकेमा यतिबेला महामारी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा समस्या बल्झिएको हो ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढेपनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण बाँके कोरोना सङ्क्रमणको केन्द्रबन्दिु बनेको छ । दैनिक सय बढी सङ्क्रमित थपिने बाँकेमा कोरोना भाइरस सङ्क्रमणप्रतिको सतर्कता र स्वास्थ्य मापदण्डलाई ख्याल नगरी नागरिकको भीडभाड सामान्य अवस्थामा जस्तै हुने गरेको छ ।

तरकारी, फलफूल बजार र दैनिक उपभोग्य सामग्री किनमेल हुने पसलमा मास्क, सेनिटाइजर प्रयोग नगरी सर्वसाधारणको भीडभाड हुने गरेको छ । विद्यालयले पनि मापदण्ड पूरा नगरी पठनपाठन सञ्चालन गरिरहेका छन् । सभासम्मेलन, उत्सव र फनपार्कमा नागरिकको भीभाडमा उस्तै छ जसका कारण बालबालिका, किशोरकिशोरी र युवामा बढी सङ्क्रमण देखिएको स्रोत व्यक्ति वलीले जानकारी दिए।

छैन तयारी

बाँकेमा कोरोना भाइरस महामारीको सङ्क्रमण तीव्र गतिमा बढे पनि यसको रोकथाम र सङ्क्रमण फैलिन नदिन गरिनुपर्ने पूर्व तयारी र सतर्कता हुन सकेको छैन । गत वर्ष नेपालगञ्जस्थित भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर व्यवस्था गरेका थिए । तीबाहेक गाउँपालिकाले आइसोलेशन बनाए । अहिले भेरी अस्पतालको आइसोलेशनबाहेक अरु कुनै आइसोलेशन सञ्चालनमा छैनन् ।

विगतमा विद्यालयलाई नै क्वारेन्टिन र आइसोलेशन सेन्टर बनाइएको हो । तर अहिले विद्यालय सञ्चालनमा भएकाले त्यो सम्भव नभएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । आइसोलेशन र क्वारेन्टिन सञ्चालनका लागि ठोस निर्णय भई नसकेको जानकारी दिँदै अध्यक्ष कक्षपतिले भने , “खजुराका मात्रै विद्यालय बन्द गरेर क्वारेन्टिन र आइसोलेशन बनाउनमा अन्योल भइरहेको छ, जिल्लास्तरीय निर्णय भएमा सजिलो हुनेछ । यसमा सबै पक्ष जिम्मेवार हुन जरुरी छ ।”

भेरीमा अस्तव्यस्त

दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोभिड वार्ड अस्तव्यस्त बन्न पुगेको छ । कोरोना सङ्क्रमितका लागि १४२ श्यया व्यवस्थापन गरिए पनि जनशक्ति अभावका कारण ६५ श्यया सञ्चालनमा छन् । बिरामी जबर्जस्ती आइसोलेशनमा पस्न थालेपछि चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै सुरक्षा जोखिम बढेको छ । भेरी अस्पतालको कोभिड वार्डका सबै श्यया भरिभराउ छन् । बिरामी जबर्जस्त आइसोलेशनमा छिरेका छन् ।