ताजा अपडेट »

बुटवलदेखि अमलटारीसम्मको यात्रा

बुधबार, ०१ बैशाख २०७८

चैत्रको महिना । नवलपुरको अमलटारी पुग्दा अपरान्हको १२ बजिसकेको थियो । उपप्रमुख महिला उद्यमशीलता विकास समिति, बुटवल उपमहानगरपालिकाको टोलीमा हामी नौजना सहभागी भएका थियौं । संस्थागत विकासका लागि टीम बिल्डिङ्ग तालिमका लागि हामी त्यता पुगेका थियौं । हामीलाई तालिम दिन काठमाडौंबाट बच्चुराम बस्नेत शुक्रवार मध्यान्हमा नै अमलटारीको होमस्टेमा आइपुगिसकेका थिए । उनीसँग पटकपटक फोन सम्पर्क भईरहेको थियो ।

समय बितेको हेक्कै भएन
शनिवार विहानको खाना खाएपछि तालिम सुरु भयो । तालिमका क्रममा टीम,टीम हुनका लागि आवश्यक तत्वहरु र सक्षम टीमले नै कामको गतिशीलता लिने विषयमा छलफल भयो । पाका उमेरका बच्चु सरको सहजीकरण गर्ने शैली देखेर उपप्रमुख गोमादेवी आचार्य दिदी प्रभावित भईन् । बच्चु सरले बीचबीचमा गीत गाए । नाराण गोपाल, तारादेवी र मधु क्षेत्रीको श्वरमा गाइएको गीत बच्चु सरले मिठासपूर्ण तरिकाले गाउँदा त हामीलाई सुनिरहँदा आनन्द लाग्यो ।

तालिममा खासगरी आफ्नो समितिले देखेको सपना(दूरदृष्टि), समितिको ध्येय,लक्ष्य र उदेश्यहरु कसरी पूरा गर्ने भन्ने विषयमा सजिलो तरिकाले सहजीकरण गरेका थिए । जीवनको ४१ वर्ष तालिममै बिताएका बच्चु सरको उमेरअहिले तीन बीसे एक पुगेको छ । बच्चु सरको तालिम हामीले साँझको पाँच बजेसम्म लियौं । तालिम, तालिममा प्रस्तुत गरिएका विषय र हामीले खोजेको विषयवस्तुको प्राप्तिले नै होला तालिम हलमा समय बितेको हेक्कै भएन।

भैसी र पाडो छुट्टाउने नयाँ तरिका
जंगल सफारी जाने सोच थियो साँझपख तर सम्भव भएन । साँझपरेपछि सफारी जान नपाइने रहेछ । केहीबेर हामीले अनुरोध गरेका थियौं होमस्टेका व्यवस्थापक धनीराम गुरौसँग तर हाम्रो अनुरोध व्यर्थ सावित भयो । त्यसपछि हामी सामुदायिक पशु सहायक दिलमाया श्रेष्ठको सहयोगमा कावासोती नगरपालिका वडा नं. ९ को कावासोती गाउँमा सीता केसीको भैसी फर्म हेर्न पुगेका थियौं । दुईदर्जन बढी भैसीपालन गरी महिनामा सबै खर्च कटाएर लाख बढी शुद्ध आम्दानी गर्ने उनको शाहसी काम देखेर दंग परेका थियौं । उनले भारतको पञ्जाबबाट दुईलाख पर्ने दुहुना भैसी ल्याएकी रहेछिन् । त्यो कुरा सुनेपछि हाम्रा कान झन् टाठा भए नयाँ नयाँ कुरा सुन्न । तीनवर्षदेखि भैसी पालेकी उनले स्थानीय दिदीबहिनीहरुलाई रोजगार र आफू स्वरोजगार भइएकी रहेछिन् ।

स्थानीय डेरीमा दूध बेचेर सीताले पैसा कमाएको कथा सुनाइँरहँदा हाम्रा साथीहरुले ध्यानपूर्वक कुरा सुनिरहेका थिए । हुन त सहरमा बस्नेहरुले भैसी र पाडा नचिन्ने अवस्था पनि नभएको कहाँ हो र ? भुवाप्रसाद लुइँटेल सरको भैसी र पाडा छुट्टाउने प्रश्न पनि रहर लाग्दो थियो । केही समय हामीहरु ( म र जमुना सुवेदी) ठट्टाको पात्र भयौं । तैपनि हाम्रो कारण साथीहरुलाई हाँस्ने मौका मिल्यो ।

प्रेमशंकर मर्दिनी थारुको उद्घोषण र व्यवस्थापन
साँझ परेपछि हामीहरु आआफ्नो होमस्टेमा बस्यौं । करिव नौ बजेपछि होमस्टेले सञ्चालन गरेको थारु, बोटे संस्कृतिलाई झल्काउने खालका सांस्कृतिक कार्यक्रमहरु हेर्ने मौका मिल्यो । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ,जिल्ला समन्वय समितिका उपप्रमुख, माछापुछ्रे गाउँपालिकाका उपाध्यक्ष लगायतको पाहुनाहरुसँग भेट हुने अवसर मिल्यो । तिलोत्तमा नगरपालिकाको सहकारीको टोलीसमेत त्यतै पुगेको रहेछ । सहकारीकर्मी बुद्धि पन्थसँग हाम्रो भेट त्यतै भएको थियो ।

उक्त सांस्कृतिक साँझमा थारु समुदायको लाठी नाच,झुमरा नाच,जोगेडा नाच, बोटे समुदायको गोलेनी नाच र सबै सहभागीहरुलाई मिल्ने मिश्रित नाचमा हामी सबै मज्जाले मिस्सिएर नाचेको थियौं । उक्त सांस्कृतिक कार्यक्रमको उद्घोषण एवम् व्यवस्थापन प्रेमशंकर मर्दिनी थारुले गरेका थिए । उनले गीत मिठो गरी गाउँछन् ।

उनी खासमा संरक्षण अभियन्ता हुन् । अहिले उनी कावासोती नगरपालिकाका उपप्रमुख छन् । थारु संस्कृति, संस्कार, सभ्यता र होमस्टे बारेमा जानकार छन् । होमस्टे व्यवस्थान समितिका केन्द्रीय महासचिव समेत हुन् । २०७० सालको जेठ महिनादेखि सञ्चालित अमलटारी मध्यवर्ती होमस्टेमा अहिले ३० घरहरु समाहित छन् । सात वर्षको दौरानमा आन्तरिक एवम् बाह्य गरी करिव ८० हजार पर्यटकहरु अमलटारी होमस्टेमा आइपुगेको भनी व्यवस्थापक धनीराम गुरौं सुनाउँदै थिए । थारु र बोटे जातिले सञ्चालन गरेको उक्त होमस्टे नेपालका सबै होमस्टेहरुभन्दा बढी चल्तीमा छ । सस्तो, भरपर्दोमात्र होइन, संस्कृति, कला र सभ्यता सिक्ने पाठशालाका रुपमा उक्त होमस्टेलाई लिन सकिन्छ । अनुशासन सिक्ने थलोको रुपमा समेत त्यो होमस्टेलाई लिने गरिन्छ ।

चैत्र महिनाको आधाआधीमा तराईको त्यो मध्येभाग नवलपुरको कावासोती बाघखोरमा विहान र राति उस्तै जाडो थियो । साथीहरुले गर्मी हुन्छ भनेर ठानेका रहेछन् अनि मलाई भन्दै थिए–तपाइँले जाडो हुन्छ भनेर भन्नु पर्दैन ? मैले पनि कतै सुनेको थिएँ–तराईमा थारुहरुले चैतमा गोरु बेचेर सिरक किन्छन् । साँचो लाग्यो । हो रहेछ । त्यो कुरा जाडोले प्रमाणित गर्यो।

कावासोतीको बाघखोरमा रहेको उक्त होमस्टेमा जंगल सफारी, नारायणी नदीमा बोटिङ्ग,सामुदायिक वनमा पैदल यात्रा, आदिवासी जनजाति थारु संग्रहालय अवलोकन गर्न पाइने भएकोले समेत आन्तरिक एवम् बाह्य पर्यटहरुको घुँइचो लाग्ने गरेको छ । त्यतिमात्र होइन सो होमस्टेमा जाँदा स्थानीय पोखरीहरुमा फिसिङ्ग, बयलगाडा सयर, जीप सफारी, भिलेज वाक, चरा अवलोकन गर्न पाइन्छ । स्थानीयहरुले बनाएका कलात्मक बस्तुहरुलाई कोसेली घरमा राखिएको छ । होमस्टे सञ्चालकहरुकै सहकारी समेत रहेको पाउँदा सबैले खुसी मनाईयो । यही कारणले समेत अमटारी होमस्टे अब्बल हुँदैछ ।

पछिल्लो समय गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेको वन्यजन्तु पार्क देख्दा झन रमाईलो पो लाग्यो । पार्कमा गोही, बाघ, हात्ती जरायो, हरिणको चित्रले आकर्षण गरिरहेको थियो । हामी जंगलसफारी जानेबेलामा केहीबेर घुमघाम गरेर फोटो खिचेका थियौं ।

जटायू रेष्टूरेण्टमा पुग्दा………
जंगल सफारीका लागि हामी चैत्र २२ गते, आइतवार विहानको आठ बजे हिडियो । एक जीपमा १३ जना अट्ने र सात हजार पाँच सय दस्तुर तिर्नुपर्ने रहेछ । हामीहरुको टोलीमा प्रशिक्षक बच्चुराम बस्नेत सर, पशु सहजकर्ता दिलमाया श्रेष्ठ र हामीलाई लैजाने हायस मोटरका चालक, सहचालक समेत थपिएका थिए । नारायणी नदीको भंगालो तरेर हामी चितवन राष्ट्रिय निकुञ्जतिर हान्निएका थियौं । सफारीका टूर गाईडले हामीलाई चुप लाग्न भनेका थिए । हामी भने मज्जाले गफ गरिरहेका हुन्थ्यौं । कहिलेकाँही सुनसान जंगलमा हाम्रो आवाजले जंगली जनावरहरुलाई असर गर्ने भएको हुँदा त्यसो भनिएको रहेछ ।

जंगल सफारीमा हामीले गैंडालाई नजिकैबाट देख्न पायौं । वन चरा,मयूरले मनै खुसी तुल्यायो । वन,वनस्पति त पहिले नै देखेका थियौं । हरिण, राते, लोखर्केले मनै चंचल बनाएको थियो । हात्तीको लादीले बाटो नै छेक्दो रहेछ । हामीले जंगलको बीचमा बनाइएको काठे भ्यू टावरबाट दृश्यावलोकन समेत गरेका थियौं ।

स्थानीय सामुदायिक वनले सञ्चालन गरेको जटायू रेष्टूरेण्टमा गएका थियौं । यमबहादुर बिकसँग फोनमा कुराकानी भएतापनि पहिलो पटक सोही स्थानमा भेट भो । हामी त्यहाँ पुग्दा गिद्दहरुका लागि सिनो मोटरमा ल्याइँदै रहेछ । केहीबेरपछि सिनो बाहिर ल्याइएपछि गिद्दहरु रुखबाट क्रमशः आहार प्राप्त स्थानतिर आकर्षित भए । केहीले पालो कुरे,केहीले सिनो लुछ्न थाले । पालोपालो गरी सिनो खाँदै गर्दा छेउमै भएको पानीको पोखरीमा अघाएका गिद्दहरुले नुहाए अनि आफ्नो पखेटा फिंजारेर नखुलेको आकासमा पखेटा सुकाए ।

आकास धुम्म थियो । गिद्दहरुलाई हेर्न हामी काठले बनाइएको टहरामा बसेर आँखा दौडाएका थियौं । यमबहादुर बिक भने गिद्दलाई आहारको व्यवस्थापन गरिहेका थिए । हामीलाई सिनोको सेन्ट आउने भएकोले टाढै राखेको सुनाउँदै थिए उनले । नेपालमा पाइने सातथरिका गिद्दहरुमध्ये यहाँ तीनथरिका गिद्दहरु पाइने यमबहादुरले हामीलाई बताउँदै थिए । केही गिद्दहरु साइबेरिया गइसकेका रहेछन् भने जाडो छल्न आएका केही गिद्दहरु हिमाल जाने तयारीमा रहेको उनले सुनाइरहेका थिए । सेप्टेम्वरको पहिलो साता गिद्द संरक्षण दिवस मनाउने चलन भएपनि नेपालमा यस्तो प्रचलन आइनसकेको रहेछ ।

सन् १९८० ताका संसारमा आठ करोड गिद्दहरु भएता पनि सन् २००६ सम्म आइपुग्दा ९७ प्रतिशत् गिद्दहरु लोप भइसकेको कारण गिद्द संरक्षणका लागि आफूहरु लागिपरेको यमबहादुरले बताए । गिद्दको दृष्टि क्षमता अद्भूत हुने गर्छ । ६ हजार मीटरमाथिबाट उडिरहेको गिद्दले जमीनमा मरेको ३ फूटको सिनो सजिलै देख्ने गर्छ ।

खित्का छाडेर हाँसियो…………………..
जटायू रेष्टूरेण्टबाट फर्किदै गर्दा पोखराको टोलीसँग भेट भो । उपप्रमुख मञ्जु दिदीले भनिन–तपाइँहरुले बाघ देख्नु भो ? हामीले बाघ देख्न नपाएको कुरा भन्न नपाउँदै उनले फेरि भनिन् –हामीले त बाघ नदेखेपनि बाघको पैताला देख्यौं नि ? हामीहरु सबै खित्का छाडेर हाँसियो । उनीहरुको टोलीलाई हामीले जटायू रेष्टूरेण्ट हेर्न सुझायौं । बाटामा राष्ट्रिय निकुञ्ज संरक्षणका लागि खटिएका सेनाहरु देखिए ।

होमस्टेमा आइपुग्दा विहानको एघार नाघिसकेको थियो । हतारमा खाना खाएर तालिम हलमा प्रवेश गरियो । तालिममा थकाईले होला केही साथीहरुले हाइहाइ गर्न समेत भ्याए । मीठो निद्रा लाग्ने छाँट देखिन्थ्यो । तैपनि बच्चु सरको तालिम अनि गीतले निद्रालाई लखेटियो । दिउँसोको सवा तीन बजे हामीले तालिम तुरेका थियौं । उपप्रमुख महिला उद्यमशीलता विकास समितिका संयोजक बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा दिदीले प्रशिक्षक,सहभागी,होमस्टे,चालक एवम् सहचालक सबैलाई धन्यवाद दिदैं सबैप्रति कृतज्ञता व्यक्त गरिन् । तालिम फलदायी भएको सुनाइन् ।

ठगिश्वर पोखरेल सर र उमा गलामी मेडमले होमस्टे र प्रशिक्षकको हिसाबकिताब मिलान गरे । बच्चु सर सोमवार बिहानै काठमाडौ जाने भए । बिदाईको क्षण नमिठो हुँदो रहेछ । पीरको पोको मनमा बाटेर हामी भने हाम्रा हायस मोटरमा हुँइकियौं । डण्डाबजार नजिकै रहेको इन्द्र टपरी उद्योग हेरियो । कामदारहरुसँग कुराकानी गरियो । वनप्रति आधारित घरेलु उद्योग हेरेर खुसी ब्यक्त गरियो । दिदीबहिनीहरुले जाँगर देखाएका देखिन्थे । आर्थिक उपार्जन गरेको सुनाउँदै थिए ।

सेलरोटी खाने कुरो
दाउन्नेमा सेलरोटी खाने जमुना मेडमको सपना मोटर जामले खत्तम भयो । चिसापानीमा बर्दघाट नपा वडा नं. २ का वडाध्यक्ष दया दर्लामीसँग भेट भइयो । उनीसँग बसेर रोयल पार्टी प्यालेसमा खाजा खाइयो तर साहुजीले हामीसँग पैसा लिन मानेनन् । कुराकानी चियापानीसँगै बिदा भईयो ।

बुटवल घरमा आइपुग्दा रातिको नौ बजिसकेको थियो । दुईदिनको टीम बिल्डिङ्ग तालिमले हामीलाई उर्जा दियो । उत्साह थप्यो र जाँगरिलो बनाउने प्रयास गरेको थियो । सहभागीहरुले दुईदिनमा सिकेका कुराहरुलाई मनमा मात्र होइन व्यवहारमा परिणत गर्ने संकल्प गरेका छौं । समितिको भविष्य सुन्दर बनाउने सपना बुनेका छौं । साँचिक्कै समितिलाई नमूना बनाउने अठोट बोकेर घरघरमा फर्किएका छौं ।

https://www.globalaawaj.com/archives/94877