बुटवल । रुपन्देहीको सैनामैनामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड तथा चौथो नगर स्तरीय खेलकूद सप्ताह सुरु भएको छ । सैनामैना–७ मा अवस्थित सरस्वती विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा नगरका १८ सामुदायिक विद्यालयहरुको सहभागीता रहेको छ ।‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’–भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशसभाका सादस्य भूमिश्वर ढकालले नगरलाई खेलकूदको क्षेत्रबाट अगाडी बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
सैनामैना विकासको हिसाबले नयाँ शहरको रुपमा पूर्वाधार तथा संरचनाहरु थपिदै गएको बताउँदै उनले खेलकूदको विकासका लागि पनि संरचना निर्माणको क्रमले तीब्रता पाएको उल्लेख गरे । यसैगरी सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले नगरको खेलकूद विकासका लागि व्यवस्थित संरचनाहरु निर्माणलाई जोड दिइएको बताए । यसैगरी शैक्षिक क्षेत्रको विकासमा समेत खेलकूदले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । आगामी चैत्र ३१ गतेसम्म सञ्चालन हुने सप्ताहमा छात्र तथा छात्रा भलिबल, दौड प्रतियोगिता, हाइ जम्प, लङ जम्प लगायतका प्रतिस्पर्धाहरु हुने नगर खेलकूद विकास मितिले जानकारी गराएको छ ।
प्रतिक्रिया