बैशाख र जेठ महिनामा फिल्मको छायांकन अत्याधिक हुने गर्दछ । मौसमले राम्रो साथ दिने हुँदा फिल्म छायांकनका लागि यो महिना उत्तम मानिन्छ । गत वर्ष मात्र यो महिनामा ३० भन्दा बढी फिल्म फ्लोरमा थिए । तर, यस वर्ष फिल्म निर्माणमा कमी आउने देखिएको छ । किनभने, अहिले फ्लोरमा आधा दर्जन फिल्म पनि छैनन् ।
चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि खासै धेरैले अनुमती पनि लिएका छैनन् । गत वर्ष नेपाली फिल्म क्षेत्रका लागि ‘कालो वर्ष’ को रुपमा समीक्षा गरिएको थियो । गत वर्ष आश गरिएका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका थिएनन् । अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको 'रोज' र 'लभ स्टेशन' ले हलमा हावा खायो । अनमोल केसीको 'क्याप्टेन' ले पनि अपेक्षाकृत व्यापार गरेन । 'नाईं नभन्नू ल ५', 'छक्का पञ्जा ३', 'जय भोले' र 'ए मेरो हजुर ३' ले मात्र निर्माता बचाए ।
झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर ३' रिलिजको करीब ६ महिनासम्म कुनै नेपाली फिल्म नचल्दा फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । हल सञ्चालकले हलमा झिँगा धपाउँदै बस्नु परेको बताएका थिए । फिल्मकर्मीबीच दर्शक हराएको चर्चा सुरु हुन थालेको थियो । आश गरिएका फिल्म समेत बक्सअफिसमा टाँट पल्टिदा फिल्म रिलिज गर्न र निर्माण गर्न लागेका निर्माताहरु नराम्रोसँग आत्तिएका थिए ।
तर, गत वर्षको अन्तिम अर्थात् चैत २९ मा रिलिज भएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म 'ए मेरो हजुर ३' ले भने खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई राम्रैसँग चलायमान बनाएको छ । केही दिन अगाडि प्रदर्शनको ५१औं दिन पूरा गरेको यस फिल्मले सुस्ताएको फिल्म क्षेत्रमा चहलपहल बढाएको छ । तर, गत वर्ष ६ महिना कुनै फिल्म नचल्दा मेकर्समा पलाएको निराशा अझै उस्तै छ ।
यस वर्षबाट फिल्म निर्माणमा ९० प्रतिशतले कमी आएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । उनले फिल्मको छायांकनमा ९० प्रतिशतले कमी आउनु चिन्ताको विषय रहेको बताए । फिल्म निर्माणमा कमी आउँदा सिंगो फिल्म क्षेत्रलाई असर पुग्ने उनको भनाई छ । अहिले निर्माता बचाउन अत्यन्त आवश्यक रहेको उनी बताउँछन् ।
प्रतिक्रिया