ताजा अपडेट »

गहुँको छ्वालीमा आगो लगाउने कार्यमा प्रतिबन्ध

शुक्रबार, २० चैत्र २०७७

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गहुँको छ्वालीमा आगो लगाउने कार्यमा प्रतिबन्ध लगाएको छ । पालिकाले गहुँ ,मसुरो लगाएतको फसल तयार भई भित्राउने समय भएको अवस्थामा केही किसानहरूले मेसिनको सहयोगमा आफ्नो फसल भित्राई बाँकी रहेको छ्वाली ,पराल ,भुस खेतमै आगो लगाउने कार्य भएकोले गाउँपालिकाले प्रतिबन्ध लगाएको हो ।

गहुँको छ्वाली खेतमै आगो लगाउने कार्यले पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण जिवजन्तुको विनाश हुने, खेतको उर्वराशक्तिमा कमि आउने,घरपालुवा जिवजन्तुको खाद्यान्नमा कमि आउने तथा आगलागिको जोखिम हुने भएको हुनाले आगो लगाएर नष्ट गर्नुको सट्टा बहुउपयोगको रुपमा घरपालुवा जन्तुको खाद्यान्नको रुपमा वा कम्पोष्ट मल बनाई प्रयोगमा ल्याउन सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले पालिका बासिलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलद्वारा हस्ताक्षरित एक सूचनामा गहुँको छ्वालीमा आगो लगाउने तथा मनोमानी गर्ने र सूचनालाई वेवास्ता गरी उल्लेखित गतिविधि भएमा वा सो कार्यबाट कुनै दुर्घटना या क्षति भएमा किसान स्वयम् जवाफदेही हुनुपर्ने एवम् दोषिउपर नियमानुसार कार्वाही हुने उल्लेख छ ।