ताजा अपडेट »

जुकेना रुपन्देही सम्पर्क समाजको वार्षिक साधारणसभा

सोमबार, २७ जेठ २०७६

जेठ २७, बुटवल । अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा तथा अर्घाखाँची जुकेना रुपन्देही सहकारीको पहिलो वार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले कामको सिलसिलामा जन्मस्थान छाडेर जुनसुकै स्थानमा गएता पनि आफ्नो जन्मथलोको विकास र समृद्धिको लागि सबैको पहल जरुरी रहेको बताए । अर्घाखाँची जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले आफ्नो क्षेत्रको विकासको लागि ५० करोड बजेट विनियोजन गरेको बताउँदै अहिले सम्म कसैले गर्न नसकेको विकासका काम आफ्नो कार्यकालमा गरेर देखाउने दावी गरे । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडी बढाइएको बताउँदै उनले अहिले सम्म कसैले गर्न नसकेको नौमुरे जलविद्युत आयोजनाको काम अगाडी बढाउने दावी गरे । उनले भने – ‘भौगोलिक हिसाबले निकै ठुलो क्षेत्रफल ओघटेको क्षेत्र भएका कारण आजको भोली विकास गरेको नदेखिएला, एकातिर विकास गर्दा अर्कातिर छुट्ला तर हेर्दै जानुहोला म बोलेर होइन गरेर देखाउँछु’ ।

कार्यक्रममा संस्थाका अध्यक्ष नुमेन्द्र पौडेलले आफुहरुले जिल्लाको जुकेनाबाट औषधी उपचारको लागि रुपन्देहीमा आइ विभिन्न समस्यामा परेका विपन्न परिवारका विरामीहरुको लागि आर्थिक सहयोग गरिएको, प्रत्येक वर्ष चैत्र २ गते नियमित रुपमा रक्तदान गरी जो कोहीलाई रगतको अभावमा सहयोग पुर्याएको, समय समयमा जुकेनामै पुगी स्वास्थ्य शिविरहरु सञ्चालन गरेको लगायतका वार्षिक कामहरुको जानकारी मुलक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सिद्धार्थ आधारभुत बिद्यालय जुकेनाका प्रधानाध्यापक नेत्र प्रसाद पोखरेल, अभिभावक संघ रुपन्देहीका उपाध्यक्ष झविन्द्र प्रसाद पौडेल, संस्थाका सल्लाहकार यज्ञ प्रसाद आचार्य, थानेश्वर बेल्बासे लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष विष्णु पौडेलको स्वागत तथा सचिव माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य गोपाल पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभाको अवसरमा गत चैत्र २ गते बुटवलमा सम्पन्न रक्तदानमा रक्तदान गर्ने ६० जनालाई प्रमाणपत्र तथा खादाले सम्मान समेत गरिएको थियो ।