काठमाडौँ । फेब्रुअरीको मध्यमा पश्चिम भारतको एउटा ठूलो अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाभाइरसको घातक महामारी घट्दै गरेको विश्वास गर्न थालेका थिए। त्यस अस्पतालको कोभिड वार्डमा २८ जना मात्र बिरामी बाँकी थिए। एक हजार शय्या भएको महाराष्ट्रको कस्तुर्बा अस्पतालमा गत सालको गर्मी याममा १८० जना कोभिडका बिरामी थिए। सो अस्पतालमा फेब्रुअरीमा कयौँ महिनापछि पहिलो पटक सघन उपचार कक्ष आईसीयू रित्तो भएको थियो।
बिरामीको सङ्ख्या घट्नेमा विश्वका अन्य कयौँ भागमा झैँ त्यो स्थान पनि अपवाद थिएन। बरु स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्नेहरूले कोभिड खोप लिन सुरु गरेका थिए। उक्त अस्पतालमा समेत ७० जना जति स्वास्थ्यकर्मी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।
तर त्यहाँका झन्डै ६५० जना चिकित्सक र नर्सहरूले महसुस गर्न थालेको राहत धेरै दिन टिकेन। भारतमा फैलिएको भाइरसको दोस्रो लहरले त्यहाँको उच्च प्रभावित एउटा सहर नागपुरबाट ८० किलोमिटरको दूरीमा रहेको यो अस्पताललाई समेत छाडेन।
यतिखेर १०० भन्दा कम शय्या राखिएका कोभिड वार्डमा छिटै बिरामी भरिन थाले। पछिल्ला केही सातामा १७० बिरामी भरिए भने ३० शय्याको आईसीयूमा निकै गम्भीर बिरामीहरू भरिए। मृत्युदर ह्वात्तै बढ्यो। उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एसपी कलान्त्रीले भने, "दोस्रो लहरमा भाइरस निकै सङ्क्रामक भएको देखियो। हामीले सङ्क्रमित भएका पूरै परिवारलाई समेत भर्ना गर्यौँ। हामीले बिरामी हुने ४० वर्ष मुनिका कयौँ युवाहरूलाई समेत देखिरहेका छौँ।" अवस्था फेरि खतराको सङ्केत दिने अवस्थामा पुगेको उनले बताए।
भारतमा पुष्टि भएका कोरोनाभाइरसका सङ्ख्याले एक करोड २० लाख नाघेको छ। यो विश्वमै अमेरिका र ब्रजिलपछि उच्च सङ्क्रमण हो।तर त्यहाँ कोभिडका कारण मृत्यु भएको १६ हजारभन्दा धेरै सङ्ख्या सङ्क्रमितको तुलनामा विश्वमै कम मध्ये हो। कयौँ विज्ञहरूले भारतले भयानक र अझ घातक कोरोनाभाइरसको दोस्रो लहर सामना गरिरहेको ठान्छन्।
सङ्क्रमितहरू दोबर हुने दर ३० मार्चमा १७० भन्दा कम दिनमा झरेको थियो। जबकि २८ फेब्रुअरीमा दोबर हुने दरको उच्च विन्दु ५९० दिन पुगेको थियो। पछिल्लो पटक गत नोभेम्बर महिनामा त्यहाँ दोबर हुन लाग्ने दर १७० भन्दा कम दिन थियो।
अक्टोबर महिनापछि भारतमा गत सोमवार एकै दिन ६८ हजारभन्दा बढी सङ्क्रमित थपिए। महाराष्ट्र, गुजरात र पन्जाबजस्ता राज्यमा सङ्क्रमणको दर पहिलेको उच्च विन्दु नजिक वा त्योभन्दा माथि पुगिसकेका छन्। आन्ध्र प्रदेश, विहार, उत्तर प्रदेश र पश्चिम बङ्गालजस्ता राज्य भने दोस्रो लहरको सुरुवाती चरणमा भएझैँ देखिन्छन्। विज्ञहरूले यस्तो वृद्धिदर मानिसहरूको बढ्दो बेवास्ता र सरकारको अस्पष्ट सूचना प्रवाहका कारण भएको ठान्छन्।-बिबिसी
प्रतिक्रिया