लकडाउनले ठप्प थियो सिंगो मुलुक । तर यामहरुलाई आवतजावतमा बन्देज थिएन । बसन्त ऋतुको समाप्तीसँगै प्रचण्ड गर्मीको राप च्यापेरै साँझ झमक्क परिसकेको थियो । म घरबाट सुटुक्क निस्किएर नजिकैको राधाकृष्ण मन्दिर तर्फ लम्किएँ । सडकमा ल्याम्पपोस्टको उज्यालो खसीसकेको थियो । । मन्दिर परिसरमा पनि बत्तीको उज्यालो फैलीसकेता पनि सुनसान थियो मन्दिर । सदाझै साँझको आरती र भजन गर्नेहरुको चहलपहल थिएन त्यहाँ । सोचेँ लकडाउनले मन्दिरलाई पनि छोएछ । मन्दिरको गेट भित्र प्रवेश गरेपछि देब्रेपट्टीको कुनामा आँखा लगाएँ । तर त्यो ठाउँ रित्तो थियो । जहाँ उनी अर्थात सुरदाष बस्ने गर्दथे । साँझको आरती सकेर सिँढी ओर्लदै गरेको पुजारी बालाई अभिवादन गर्दै सोधेँ " आज शूरदाष हुनुहुन्न गुरु ?"
पुजारी बाले उनी खाना खान गएको अडकल काट्दै भने " भात खान गए होलान् सायद आउने बेला भयो । के काम थियो ? एकछिन बस्नु नी । " यति भनेर पुजारी बा बाहिर निस्किए । मैले २० मिनेट जति उनलाई पर्खेँ । साँझ गाढा हुदै गैरहेको थियो, साथै गर्मीको तातो रापले तप्त थियो ईटहरी । घरमा खाना बनाउने अबेला होला की भनेर त्यसदिन उनलाई नभेटी फर्किएँ । भोली पल्ट बिहानको खाना खाएर किचनको काम सक्दा मध्यान्ननै भएछ । बाहिर सातवटा घाम लागेजत्तिकै तातो थियो र पनि त्यसको पर्वाह नगरी मेरा पाइतालाहरु मन्दिर तर्फ लम्किए । सुरदाष मन्दिरको भर्याङ छेउको पेटीमा पल्टीरहेका थिए । कसैको कदमको आहट सुनेर होला उनी चलमलाए ।
'निदाउनु भएको हो सुरदाष ?'
मैले सोधेँ ।
''निदाको छैन ।''
भन्दै उनी उठेर बसे । एकछिन सामान्य गफ भयो त्यसपछि उनी चिया खान जाने बेला भयो बेलामा पुगिन भने खान पाउदैन भन्दै छामछाम छुमछुम गरेर झोला टिपेर लठ्ठी टेक्दै मन्दिर बाहिर निस्किए । लकडाउन झन कडा हुन थाल्यो । बिस्तारै कोरोनाको कहरले विश्व आक्रान्त भयो । लाखौंको जीवनमा कठिन भन्दा कठिन मोडहरु आयो । मान्छे महामारीले भन्दा भोकमरी ज्यादा मर्न थाले । यो भन्दा अघी यस्तो मर्माहत समय सायद आएको थिएन । महामारीको कारण भएको अनिश्चित लकडाउनले मानिसका सपनाहरु फेरिए । विपना फेरीयो, जीवनशैलीहरु फेरिए । यसो भनौं जीवनको अर्थ र परिभाषानै बद्लियो । त्यसपछि सुरदाषलाई भेट्ने मौका पनि खासै मिलेन ।
केही दिन अघीको एक साँझ उनी मन्दिरमै भेटिए । म उनको छेउमा गएर बसेँ र खोतल्न थालेँ उनको जीवनकथा ।
'डुलन्ते मन्छेले धेरै कुरा संझिनु सक्दैन नी'
यसो भन्दै उनि आकास तर्फ फर्केर हाँसे ।
अनि प्रारम्भ भयो अँध्यारो यात्राको एउटा कथा । सुरदाष उनलाई ईटहरीले दिएको नाम हो । उनको खास नाम अम्बर बहादुर गुरुङ हो । उनैको अनुमान अनुसार आज भन्दा करिव ७२ बर्ष अघी घुरुङगाँउ आँधिखोला स्याङ्जामा बुबा दल बहादुर गुरुङ र आमा ललिता देबीको माइला सन्तानको रुपमा उनको जन्म भएको थियो । नागरिकता हराएकोले उनलाई आफु जन्मेको साल यत्तिनै भन्ने यकिन छैन रे । तर देशमा राणाशाषन हट्नु भन्दा २ बर्ष अघी जन्मेको कुरा आफ्नो सुबेदार बाजेले भनेको सम्झना छ भन्छन् । "म जन्मिदा मेरो ठुलो निधार देखेर हाम्रो बाउ खुब खुशी भाको थियो रे ।" उनि निधार तालु छाम्दै हाँस्छन् र भन्छन् ' भाग्य त इस्तो पो रैछ छोराको 'दयाको गाँस, पाटीको बास'
उसो त उनलाई आफ्नो बाउको अनुहार कस्तो थियो भन्ने सम्झना छैन रे । सायद उनको अस्थिर मनमा बाबाको अनुहारको सम्झना स्थिर हुन सकेन । उनि सात बर्षको हुदा ६ जना लालाबाला सन्तानलाई टुहुरा बनाएर बुबा दलबहादुर गुरुङ परलोक रवाना भए । उनि बिगतमा फर्किदै भन्छन् "मेरो बाजे गाँउमा कहलिएका सुवेदार, उ बेला दुईपुस्ता पेन्सन दिने नियम थियो, बाजेको शेख पछि आमाले थाप्थ्यो पिल्सिङ (पेन्सन) हुन त गाँउमा धनिमानीमै गनिन्थ्यो हाम्रो परिवार, ३ भाई बाजेको ६ वटा घर थियो । जग्गा जमिन र पाखा रेखा कत्ति हो कत्ति ! अझै पनि छ गाँउमा, तर काम गर्ने मन्छी पाउदैन अचेल ।'' बर्षौ अघी देखी जन्मस्थान नटेकेका उनी अनुमानलेनै गाँउको अहिले अवस्था बताउछन् । अन्नमा कोदो मकै आलु फापर मात्र हुने, धान चाही किन्नु पर्थ्यो ।धानको भात मात्र खानु पाए हुन्थ्यो लागीरहने । उनी फेरी बिगतमै फिर्छन् ।
"१७ सालमा महेन्द्र सरकारले गाँउ गाँउमा स्कुल खोल्यो । सेउलाको छाप्रा हालेर भए पनि पढाई सुरु भयो, तर म पढ्नु सँधै जादैनथियो । सानै देखी म बराला मन्छी (मान्छे ) बरालिएरै जुनी गयो तर सँधै स्कुल नगोएनी लेख्नु पढ्नु आउँछ नी । अक्षेर त सबै चिन्छु ।" अम्बर बहादुर बिद्यालय गएनन् । उनको यायावर मनले एकठाँउमा स्थिर भएर बस्न दिएन । ठुलो दाई ईण्डिया भर्ती भएर गए । उनलाई पनि लाहुरे हुने रहरले गाँज्यो , त्यस्को मोह त्याग्न सकेनन् । किनकी गाँउमा लाहुरेको शाननै अलग हुन्थ्यो । त्यसैबेला गोरखपुरमा गोर्खा भर्ति खुल्यो । पेन्सन थाप्न जाने आमाको पछि लागेर उनि पनि छाती नपाउन गोरखपुर पुगे । आमा नुनको भारी लिएर घर फर्किन् । उनी भने भर्ती क्याम्पको चक्कर लगाउन थाले ।
सामान्य परिक्षा लिइयो पासहुनेहरुलाई दुईलाईनमा राखेर दुई रंगले छातीमा नम्वर हानियो । रातो मसीले नम्वर हानिएकोहरुलाई १ लाइनमा राखियो जुन लाइन लामो थियो । निलो मसीले नम्वर हानिएकोहरुलाई अर्को लाइनमा राखियो जुन लाइन छोटो थियो । उनलाई लाग्यो यो फेलहुनेहरुको लाइन हो । उनी चिन्तामा परे , लाहुर लागेर छुटटीमा शानले गाँउ जाने सपना सबै भत्कियो । छिन छिनमा दिशा र पिसाप लागीरहने भयो । आफु पक्कै फेल भएको सोचेर पाइखाना बाटै झोला बोकेर सुटुक्क भर्ती क्याम्पबाट बाहिरीए । लाहुरे भएर मात्र घर फर्किने भनेर कत्रो फुर्ती लडाएर हिडेको मान्छे फेल भएर निस्रिक्क परेको अनुहार लिएर उनलाई गाँउ फिर्ने मनै भएन । पछि पास हुनेहरुलाई क्याम्प लाने बेलामा उनको खोजी भयो ।
जोर जोरले उनको नाम बोलाइयो तर त्यो आवाज पुग्ने ठाँउ भन्दा निकै पर पुगिसकेका थिए अम्बर बहादुर । पछि थाहा लाग्यो उनी फेल होइन पास भएका रहेछन् । अम्बर बहादुर अपिस फोर्सका लागी छानिएका रहेछन् । यो कुरा थाहा पाएर फर्केर आउदा ट्रेनिङ क्याम्पको लागी मिल्ट्रीभेकल हिडिसकेछ । राम्रो नबुझी भर्ति क्याम्प छोडेर हिडेकोमा उनलाई जीवनकै नमिठो थक थक लाग्यो । उन्लाई गाँउ फर्किने मनै लागेन । त्यतैबाट दाजुलाई भेटेर आउने हुटहुटी चल्यो र हान्निए ताजमहलको भूमि अर्थात आगरा । कहिले परदेश नहिडेको मान्छे आखिर गोरखपुरबाटै शुरु भयो अम्बर बहादुरको जीवनको गन्तव्यहिन यात्रा । तर उनी जँहा पुग्थे सँगै हुन्थ्यो पेट । जिवनको लमतन्न सडकमा उनले पेट लिएर हिडेनन् बरु पेटलेनै उनलाई ओरालो भिरालो र अनकन्टार बाटाहरुमा हिडाइरह्यो ।
उनी आफ्नो जीवन र मनलाई बतासको उपमा दिन्छन् । गोरखपुरबाट बतासिएर हिडेका अम्बर बहादुर नागाल्याण्डको राजधानी डिमापुरबाट एकसय कि मी पश्चिम उत्तर मुक्चुङमा पुगेर केहीसमय थामिए । मुक्चुङको एउटा विकट गाँउको राइसमिलमा खाएर दिनको १ रुपैया ज्यालामा डुलन्ते रहरलाई थुमथुमाउदै २ साल गुजारे । त्यहाबाट हिडेका उनी भारतका विभिन्न शहरहरुको चक्कर लगाउदै र ठक्कर खाँदै जाँदा इन्डिया र बंगलादेशको सिमाना आगरतोला पुगे । हेर्दा हट्टाकट्टा र तन्दुरुस्त देखिने अम्बर बहादुरले त्यहाँ बिजुली अफिसमा चौकीदारको काम त पाए तर उनले आफ्नो बफादारीको निकै महगो मुल्य चुकाउनु पर्यो। सोझो तर सुरो अम्बर बहादुरलाई चौकीदारी गरीरहेका बेला स्थानिय गुण्डाहरुले आक्रमण गरे ।
गुण्डा ग्याङले आक्रमण मात्र गरेनन् उनलाई मारेर फाले । तर उनि बौरिए अर्थात संजोगले उनी बाँचे ।उनी सँगै बाँच्यो एउटा अँध्यारो यात्राको सुदुर जिजीविषा । त्यो घटनाको प्रत्यक्ष दर्शक उनले खाना खाने गरेको होटलवाला थियो । होटलवालाको वयान मुताविक बिजुलीअफिसलेनै गुण्डा बिरुध्द उजुरी दियो र अपराधीहरु कानुनको फन्दामा परे ।
"त्यँहा किन आक्रमण गरेको त ? "
''बिजुली आपिसमा मंगो मंगो ( महंगो ) समानहरु धेरै थियो नि त , मैले त्यो लुट्न नदिदा मलाई कुट्यो । उनिहरुको लागी त मलाई मारेर नै फालेको नी । ''
" कसरी बाँच्नु भयो त ? "
पुलिस खोज्नु जाँदा धुक धुकी बाँकी रछ हरे ।बौरीराखेको रछु अनि उनिहरुले नै उठाएर अस्पताल लगीछ र बाँचियो । आपिसले नै २ महिना अस्पताल राखेर निको पार्यो ।
यी घटना बताईरहदा उनले त्यतिबेला आफ्नो हात पाउ र शरिरमा लागेको चोटको खतहरु देखाए । हास्दै उनी फेरी भन्छन् " त्यतीबेला मु मरेको भए अहिले यसरी बात मार्नु काहाँ मिल्थ्यो र ? " मृत्युलाई जितेको त्यस क्षण उनी खुलेर तारिफ गर्छन् ।जस्तो की रात र दिनको कुनै भेउ नछुटिने जीवनको सम्पुर्ण अध्यारो यात्रा प्रति उनलाई कुनै गुनासो छैन । २ महिना बसेर निको भएपछि घर पुगेर आउछु भनी उनले आगरतोला सँधैको लागी छोडेर आए । त्यतिबेलाको विभत्स घटनाले उनको सातो त लियो लियो झण्डै प्राण पखेरुनै उठायो । फेरी फर्केर जाने हिम्मत आएन । पराई मुलुकमा यस्ता अनेक दुःख ठक्कर खाएपछि जति दुःख गरे पनि आफ्नै देशमा गर्ने भन्ने सोचेर अम्बर बहादुर आफ्नै भूमिमा फर्किए ।
त्यतिनै बेला बुटवल तिनाउ खोला पारी झोडा खुलेको हल्ला फैलियो । झोडा फाडेर बस्ती बसाउनेहरुको हुलमा अम्बर बहादुर पनि मिसिए । सायद अम्वर बहादुरले पनि आफ्नो पुर्खौली बिर्तामा भन्दा यसैमा सिर्जनात्मक आनन्दको झिल्का देखे । अहिले झोडा फाँडेर ठाँउ ओगट्न सके पछि धान खेती गर्न पनि सकिने अनुमानले मनमा मुजुरा हालेको थियो । मिहिनेत गरे धानको भात कसो खान नपाइएला भनेर उनी केही सामलको जोहो गरेर लागे तिनाउ खोला पारी । जवानै थिए । बलको कमी थिएन आँटको खाँचो थिएन । सक्दो फाँडे जंगल ।
उनी आफ्नो त्यो बेलाको जोश र जाँगरको आफै यस्तो तारिफ गर्छन् जस्तो की उन्मा अहिले पनि त्यही जोश छ ।
''मु एक्लैले ३ बिघाहा फाँडेछु ।आफ्नो भाग फाँडीसकेपछि साथीलाई पनि सघायो । सबैले आ-आफुले फाँडेको ठाँउमा सिमाना राखेर सा-सानो मतान बनायो । '' उनी अनुमान लगाउछन् की ''अहिले त त्यो जमिनको दाम करोड माथी होला । '' कस्ले भोग गर्छ उनलाई केही थाहा छैन । सायद भाग्यमा भोग लेखेको छैन भने थालीको माछा पनि उछिट्टिएर पानीमै जान्छ रे । त्यस्तै भयो अम्बर बहादुरको पनि । त्यतीबेला आफ्नै पौरखले आर्जेको जमिनमा बाली लगाउदा र लगाको बाली फल्दाको परम आनन्द उनी सम्झदैँ भन्छन् । ''हिउँदमा तोरी छर्याको थियो । अचम्मै फलेको थियो । दाल पनि उस्तै फलेको थियो । तोरी पेलेर घरमा कोशेली लिएर जाने र आमालाई टक्र्याउने ठुलो धोको थियो । ''
झोडा फाँडेर बसाएको नयाँ बस्ति आमालाई देखाउने रहर साचेर आमा लाई लिन बर्षौं अघी छोडेर हिडेको घर गाऊँ जाने निधो गरे अम्बर बहादुरले ।
जानु भयो त गाँउ ?
फेरी झट्ट सम्झेझै गरेर बोले गाँउ छोडेको थुप्रै साल भागोथ्यो, लाहुरे हुनु पनि सकिन, गाँउले के भन्ला ? के ठान्ला ? बरु एकपल्ट अरुले नचिन्ने भएर गाँउ जाने बिचार गर्यो ।गाँउलेले मलाई के भन्ने रैछ ? बुझेर मात्रै गाँउ जाने मन भयो '' यसरी उनले तत्कालै गाँउ जाने बिचार त्यागे । उनी भन्छन् ''पछी भेष बदलेर गाँउ घुमेँ । धेरै परिवर्तन भैसकेछ गाँउ । आफ्नो दमलेहरु कोहि भेटिएन र अडिएन मन ।'' उनी त्यो बिगतलाई गर्वका साथ संझन चाहान्छन् । जुन आफ्नै पौरखले आफु अडिने जमिन तयार पारे । आफ्नै पसिनाले आफु अघाउने अन्न उब्जाए ।जति कित्ता धर्ती उनले आफ्नो बनाए त्यो भन्दा सय गुणा खुशी र सन्तुष्टि त्यहाँबाट पाए । तर अम्बर बहादुरको बिहे भाथेन । विष्मातपुर्ण हाँसो फ्याक्दै उनी भन्छन् । "बन्धनमा बाँध्ने परिवार नभए पछि एक्लो मान्छेलाई त्यती वास्ता नहुने रैछ केहीको । "
आफ्नो अनुभूति ओकल्छन् । उनि फर्की आउने न थला थियो किला नै थियो । बाँधेर राख्ने न कुनै बन्धन नै थियो । थियो त केवल बतास जस्तो वेठेगान मन ।
बेलैमा बिहे किन नगर्नु भाको त ?
"ठुलो दाजु आएपछि बिहे गर्ने कुरा थियो मामाको छोरीसँग, तर मु घरमा नपुग्दै दोश्रो छुट्टी आको बेला दाजुको हत्या भयो ।
कस्ले किन मार्यो त दाजुलाई ? खै कस्ले ? किन मार्यो ? कसैले पत्ता लाउनु सकेन ।
रहस्यमय हत्या भएछ त है ?
'' हो नी ।''
'' त्यो भन्दा पहिले दाजुलाई भेट्न मु आगरा पनि पुग्यो । भाउजु र भतिजीलाई पनि त्यही भेट्यो क्वाटरमा । भतिजीलाई बोकेर ताजमहलमा फोटो खिचाको थियो । उनी हातैले फोटो फ्रेमको आकार हावामा कोर्छन् । केही बेर पछि रसाएको आँखाको डिल पुस्छन् ।
आगराबाट फर्केपछी उनी बुटवलको तिनाउखोला पारी नँयाबस्तीमा फर्की लगाएको बाली उठाएर आफ्नै मतानमा थन्क्याएँ भन्छन् । आफुलाई अति माया गर्ने दाजुलाई जालसाज गरेर मारेको खबर पाए पछि उनलाई लाग्यो की घरको धुरीखाँबानै ढल्यो । त्यसपछि उनको जीवनमा नराम्रो खबरहरुको लहर लाग्यो । "भतिजीलाई पनि कसैले रातो गाडीमा उठाएर लगी वेपत्ता पारेको खबर आयो । सारा दुनियाँ खोजी गर्दा कतै पत्तो लागेन ।'' भाउजुले पनि अर्कैसँग घरजम बसायो हरे भनेको सुन्यो । त्यहाँ देखी मेरो मन बिग्रिन थाल्यो , मन बिग्रेपछि जीवन बिग्रिने रहेछ ।"
उनी आफ्नो अनुभूति सुनाउछन् ।
''त्यसपछी कता कता बरालिएँ ? भात खाँए की खाइन ? गाँउघर त यसै बिर्सेँ आमालाई संझे कि बिर्से ? आफैलाई आफ्नो थाहा हुन छोड्यो । ''
अमर बहादुरका अनुसार एउटा जिन्दगीको गन्तव्यहिन यात्रा त्यहीबाट देखी शुरुभयो । उनी जहाँ पुगे त्यतै बस्न थाले । पेट भर्ने सवालमा जे भेट्यो त्यही काम गर्न थाले । नाला सोर्ने देखी रोड बनाउने सम्म , भारी खेप्ने देखी रिक्सा चलाउने सम्म र दाउरा चिर्ने देखी आरा काट्ने सम्म । जीवनको अनमोल क्षणहरु लक्ष्यविना बरालिएर बिताए । ईच्छा के हो ? रहर के हो ? खुशी के हो ? उनलाई अझै थाहा छैन । सायद आजसम्म बिनासपनाको रातहरु निदाए ।उदेश्य विहीन छितिज टेकेर गरेको हजारौं माइलको यात्राहरुले सास फेर्नु सिवाय जिवनमा कुनै अर्थ राखेन ।
''अनि कसरी ईटहरी आईपुग्नु भयो त ? ''काहाँ जादैछु ? किन जादैछु ? थाहा हुन्थेन । ''मुड चल्यो मौका मिल्यो हिडी हाल्यो यसैगरी आईपुग्यो यहाँ ! एक्लै खितखिताए उनी। ईटहरी आउनु अघी अम्वर बहादुरले राजधानीमा दाउरा काट्ने पेशा गरे ।
''एक छाक भातको लागी दिनमा आधा खलिया सम्म दाउरा चिर्र्यो नी । ''
पेटको आगो निभाउनु के के गरेनन् ?
काठमाण्डूको रिङरोड निर्माणमा अम्बर बहादुरले पुरा १ वर्ष ३ महिना पसिना बगाए । जीवनले एक चक्र पुरा गर्न लागीसक्यो तर त्यो रिङरोडमा आज सम्म एक फन्का लगाउन पनि प्रारब्धले उनलाई दिएको छैन । शरिरमा दुई मुठ्ठी वायु बचाई राख्न गर्मीको प्रचण्ड तापमा विरगंञ्जको फोहोर नाला सफा गर्थे रे । उनी भन्छन् ''नाला सोहोर्दा शरिरमा लागेको फोहोरको गन्धले खाना रुच्दैन थियो । ''
'' पानी पच्दैन थियो । '' '' ढल मिसिएको फोहोर नाला सफा गर्दा गर्दै लामो समय थला पर्यो । त्यसपछि नाली सफा गर्ने काम छोडिदियो । त्यस पछि १ बर्ष ठेला रिक्सा कुदायो ।''
रिक्सा कुदाउन कसरी सिक्नु भयो त ?
'' भुँडीले सिकायो नी ।''
रिक्सा कुदाएर पैसा कति कमाउनु भयो त ?
उराठ हाँसो फिस्स फ्याक्दै उनी भन्छन्
'' पैसा त सबै रक्सीले उडायो । '' ''कहिले त १ गीलास रक्सीले धेरै छाक पनि टारेकोछ ।'' '' रक्सीले धेरै पल्ट अप्ठ्यारोमा पनि
पारेको छ ।'' '' त्यतिले नभएर रक्सीले झ्यालखानाको हावा पनि ख्वायो ।'' '' परिवार बाल बच्चा नभएपछि केलाई जोगाउनु ? ''
'' कमायो, खायो, सुत्यो ।'' पछिल्लो पटक २०५७ सालमा उनले ईटहरी प्रवेश गरे । बजारमा परिणत हुन लागेको सुस्त ईटहरीमा रोजगारी खासै पाइदैन थियो । जेन तेन ६ महिना बिताए पछि उनि आरा काट्न जंगल तिर पसे । जंगलमै गाँस जंगलमै बास भयो !
यही क्रममा उनका सपाट आखाँ अचानक काठ बोक्न आउने एउटा गोरी भोटिनी तिर तेर्सियो ।
कहिले कुनै उदेश्य नबोक्ने आँखाले सपनाहरु
बोक्न थाल्यो । कुनै भविष्य नदेख्ने मनले कल्पनाहरुको खेती गर्न थाल्यो । अन्ततः उनिहरु दुई चार जना आरा काट्ने साथीहरुलाई साक्षी राखेर अभिभावक बिना नै विवाह बन्धन बाधिए । तर दुर्भाग्य त्यो सम्बन्धले लामो यात्रा तय गर्न सकेन ।
तपाईहरु कसरी छुट्टिनु भयो त ?
खै के भन्ने ?
''उ आफै मलाई छोडेर गयो ।''
आफ्नो छोटो र वियोगान्त वैवाहिक सम्बन्धको विषयमा भने अम्बर बहादुरले खुलस्त बताउन चाहेनन् । सायद त्यो सम्बन्धको जग भत्काउन उनको पनि केही गल्तिहरु थियो होला । पेट पाल्ने क्रममा काठ काट्ने काम गर्न पुगेका अम्बर बहादुरको महिनौं सम्म जंगलमै बास हुन्थ्यो । आरा धरान छेउ तिरै सेउलाको छाप्रीमा रात बिताउथे सबै । त्यसरी काठ काट्दै जंगलमा लामो समय रहदै बस्दै जादाँ विस्तारै उनको आखाँमा समस्या हुन थाल्यो ।
पहिले त सामान्य समस्या होला भनेर त्यति वास्ता गरेनन् । तर जब आँखाको ज्योती नै मधुरो हुन थाल्यो । त्यसपछि भने उनी डराए ।
ज्योती जोगाउन उनले भर मग्दुर प्रयास गरे । विर्तामोड सिलीगुडी धरान सबै तिर देखाए ।विराटनगरको गोल्छा आँखा अस्पताल देखी लाहान हुदै गोरखपुर सम्म पुगे । कमाएको जम्मै आँखाकै लागी बगाए तर अपसोच ! गोरी भोटिनीले जस्तै आँखाले पनि
उनको साथ छोडेरै गयो ।त्यहीँ देखी शुरू भयो अम्बर बहादुरको जीवनको अँध्यारो यात्रा । क्रमश: ........
प्रतिक्रिया