काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज खर्बौं डलर बराबरको पूर्वाधार योजना सार्वजनिक गर्दैछन् । बाइडेनले बुधबार पेन्सिलभेनियाको पिट्सबर्गबाट आफ्नो योजनाको पहिलो चरणबारे विवरण सार्वजनिक गर्ने भएका हुन् । राष्ट्रपति बाइडेनले सार्वजनिक गर्न लागेको पूर्वाधार योजनाका लागि झण्डै ४ ट्रिलियन डलर चाहिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अमेरिकाको खस्कँदो सडक र यातायात सञ्जालमा खर्बौं डलर खर्च गर्ने बाइडेनको योजनाका लागि चाहिने रकम धनी परिवारमाथि आय कर वृद्धि गरेर व्यवस्थापन गरिने समेत समाचार माध्यमले जनाएका छन् ।
बाइडेनले वार्षिक ४ लाख डलरभन्दा कम आय भएका मानिसमाथि कर वृद्धि नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । अमेरिकामा वार्षिक ४ लाखभन्दा कम आम्दानी गर्ने मानिसको संख्या निकै ठूलो छ । यसबाहेक, बाइडेनले सवारी साधन प्रयोग गर्दाले प्रयोग गर्ने इन्धनको साटो उनीहरुले यात्रा गर्ने दूरीका आधारमा कर निर्धारण गर्नुपर्ने सांसदको मागलाई समेत वेवास्ता गर्दै पूर्वाधार योजना सार्वजनिक गर्न लागेको उनी निकट स्रोतले बताएको छ । पूर्वाधार योजना सार्वजनिक हुनै लाग्दा व्यापारिक समूह तथा सांसदले इन्धन कर बढाउन समेत बाइडेनलाई दबाब दिइरहेका छन् । अमेरिकामा इन्धनमा लगाइने करको दर विश्वकै कम दरमध्ये पर्छ र अमेरिकामा सो दर सन् १९९३ यताकै कम छ । साथै उनीहरुले माइलेज ट्याक्स अर्थात् यात्रा गरिएको माइल अनुसार सडक प्रयोगकर्तामाथि कर लगाउनु पर्ने पनि माग गरेका छन् ।
तर ह्वाइट हाउसले त्यस्तो धारणालाई अस्वीकार गरेको अमेरिकाका यातायात मन्त्री पिट बुटिजेजले बनाएका छन् । ग्यासमाथि कर लगाउने कार्य राजनीतिक रुपमा जोखिमपूर्ण हुने र यसले कामका लागि लामो यात्रा गर्ने न्यून आय भएका अमेरिकीमाथि थप भार थप्ने ह्वाइट हाउसको तर्क छ । यसको सट्टा, बाइडेनले दशकौं यताकै सबैभन्दा ठूलो दरमा संघीय करमा वृद्धि गर्ने अपेक्षा गरिएको उनी निकट स्रोतले जनाएको छ । यसअन्तर्गत कर्पोरेट आय करमा २८ प्रतिशतसम्म वृद्धि हुनेछ । साथै, उच्च आय भएका मानिसको मार्जिनल करको दर वृद्धि हुने समाचारमा बताइएको छ ।
साथै, ह्वाइट हाउसका अधिकारीका अनुसार नयाँ पूर्वाधार योजनाका लागि संघीय ऋणमाथि भर पर्न सक्ने समेत बताएका छन् । हाल अमेरिकामा ब्याजदर इतिहासमै कम भएकोले संघीय ऋणमाथि उनी निर्भर हुने तयारी गरेको बताइएको छ । बाइडेनले ल्याउन लागेको योजना जे जस्तै भए पनि यसले रिपब्लिकन, डेमोक्र्याट, अर्थशास्त्री र प्राज्ञमाझ गहन बहस सिर्जना गर्ने संभावना छ । कोभिड-१९ पछि अमेरिकी अर्थतन्त्रमा देखिएका दरार पुर्न चाहिने सही कदम के हुन सक्ला भनेर देशव्यापी बहस हुने विश्लेषण गरिएको छ । यता राजस्वको नयाँ स्रोतबिना नयाँ योजनाका लागि सन् २०३१ सम्ममा झण्डै २ सय ७ बिलियन डरल अपुग हुने कतिपयले बताएका छन् ।-एजेन्सी
प्रतिक्रिया