ताजा अपडेट »

वायु प्रदुषण बढ्यो : घरभित्रै बस्न विज्ञको सुझाव

मंगलबार, १७ चैत्र २०७७

बुटवल । नेपाली आकाशमा वायु प्रदुषणको मात्रा अत्याधिक बढेपछि सरकारले सचेत रहन आग्रह गरेको छ । गर्मी लागेसँगै वनमा लागेको डढेलो लगायतका कारण वायु प्रदुषणको अवस्था खतराको स्थितीमा पुगेपछि स्वास्थ्यमा विशेष सावधानी अपनाउन आग्रह गरिएको हो । विशेष गरी बालबालिका, जेष्ठ नागरिक तथा दिर्घ रोगीहरु यसबाट प्रभावित हुने भन्दै सचेतना अपनाउन भनिएको छ ।

नेपालमा प्रदूषण मापन गर्ने केन्द्र राखिएका अधिकांश ठाउँमा अवस्था ‘गम्भीर’ रहेको छ । ती केन्द्रले देखाएका विवरण अनुसार बुटवलसहित देशको राजधानी काठमाण्डू उपत्यका, पोखरा, जुम्ला, धनकुटाजस्ता देशका अन्य भागमा पनि वायु कतै ‘अस्वस्थ’ त कतै ‘गम्भीर’ देखाएको छ ।

कसरी भयो वायु प्रदुषण ?
यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी भएकोले प्रदुषण बढेको वातावरण विभागले जनाएको छ । यसैगरी छिमेकी मुलुक भारत तथा चीनमा रहेका औद्योगिक क्षेत्रहरुबाट उत्पादित कार्वनडाइअक्साइडका कारण नेपालले पनि वायु प्रदुषणको सामना गर्नु परेको विज्ञहरु बताउछन् । नेपालमा रहेका उद्योग कलकारखानाहरुबाट उत्पादन हुने प्रदुषण उनीहरुको तुलनामा नगन्य मात्रामा छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा एकसाथ लागेको डढेलोका कारण वायु प्रदुषण एक्कासी बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको उनले बताए । उनका अनुसार मौसमले साथ नदिएको अवस्थामा डढेलोबाट हुने वायु प्रदुषणको अवस्था अझ बढ्ने देखिन्छ ।

‘विगतमा समेत हिउँदका बेला भारतका दिल्ली–हरियाणा र आसपासका क्षेत्रमा अन्नबालीका खोस्टा जलाउँदा हुने प्रदूषणको असर नेपालसम्मै देखिने गरेतापनि विगतमा त्यो एक-दुई दिनजति मात्र रहने गरेको पाइन्थ्यो ।’-ग्लोबल आवाजसँग कुरा गर्दै शर्माले भने ‘अहिले देखिएको वायु प्रदुषणको मूख्य कारण भने नेपालमा लागेको डढेलो हो ।’ जँगलमा पात झर्ने तथा थप गर्मी मौसम आउन बाँकी रहेकाले अवस्था थप गम्भीर हुने देखिएको छ । डढेलो विज्ञ शर्माका अनुसार विगत वर्षमा डढेलोको प्रवृत्ति हेर्दा बैखा जेठमा बढी हुने गरेकाले अवस्था थप गम्भीरह हुन सक्ने छ ।

मानवीय स्वास्थ्यका लागि कति घातक ?
कोभिड-१९ सँग जुधिरहेका बेला एक्कासी बढेको वायु प्रदुषणले मानीय स्वास्थ्यमा थप चुनौती देखा परेको छ । जन स्वास्थ्य कार्यालय रुपन्देहीका डा. राजेन्द्र गिरीका अनुसार अहिले देखिएको वायु प्रदुषणले मानवीय स्वास्थ्यमा दिर्घकालसम्म असर गर्न सक्दछ । प्रदुषित वायुका कारण आँखा तथा छालाको एलर्जी, फोक्सो तथा स्वासप्रस्वासमा समस्या देखा पर्न सक्छन् । यो समय मौसमी फ्लू (मौसमी रोग) लाग्ने सक्ने सम्भावना बढी हुने भएकाले त्यसलाई वायु प्रदुषणले थप सहयोग पुग्ने उनले बताए ।

बालबालिका, जेष्ठ नागरिक, दम तथा स्वासप्रस्वास सम्बन्धि रोग भएका व्यक्तिलाई यसले बढी असर पार्ने उनले बताए । यसैगरी दिर्घकालिन रुपमा मुटु सम्बन्धि रोग, क्यान्सर लगायतका रोगहरु देखिन सक्ने खतरा रहेको छ । वायुमण्डलमा फैलिएका विभिन्न रासायनिक तत्वहरुले तत्कालिन रुपमा सास फेर्न गाह्रो हुने, आँखा पिरो हुने, चिलाउने लगायतका रोगहरु मात्रै देखा परे पनि दिर्घकालिन रुपमा असर पार्न सक्ने उनले बताए ।

असरबाट बच्न के गर्ने ?
डा. गिरीका अनुसार अहिलेको वायु प्रदुषणबाट बच्ने सबैभन्दा सजिलो उपाय सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो । विशेष गरी मनिङवार्क (विहान हिड्ने) वानी तत्काललाई त्याग्नु पर्ने उनको सुझाव छ । उक्त समय वायुमा रासायनिक तत्वहरु बढी हुने भएकाले स्वास्थ्यमा असर पार्ने सम्भावना बढी हुन्छ ।

यसैगरी घर बाहिर निस्कनुपर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, घर भित्र बस्दा वाहिरी हावा सकेसम्म कम आउने गरी भेन्टिलेशनको प्रयोग गर्ने । यस अर्थमा सास अक्सिजन आउनै नसक्नेगरी बन्द कोठामा बस्नु भने हुँदैन । यसैगरी घरभित्रै बसेर शारीरिक व्यायम गर्ने । अहिलेको वायु प्रदुषणबाट बच्नका लागि पूर्ण रुपमा उपाय नभए पनि खानपानलाई समेत ध्यान दिनु पर्ने डा. गिरीको सुझाव छ । अत्याधिक रुपमा पानी पिउने, सकेसम्म झोलिलो पदार्थ तथा प्रोटिनयूक्त खाना खानु पर्छ ।