ताजा अपडेट »

भएपछिको भूमिका

मंगलबार, १७ चैत्र २०७७

देशभरि कति सहकारी छन् भन्ने कुराले के कति अर्थ राख्छ ? त्योभन्दा बढी अर्थ त सहकारीहरुले आफ्ना सदस्यहरुलाई केकस्ता सहुलियत र सेवा दिएका छन् भन्ने कुराले बढी अर्थ राख्दछ । नेपालमा सहकारी कहिलेदेखि सुरु भयो होला भन्दापनि देशमा अहिले भएका सहकारीहरुले सदस्यहरुलाई केकस्ता सेवा, सुविधा दिएका होलान् ? धेरैलाई यही प्रश्न गर्न मन लाग्छ होला ।

सरकारको तीन खम्बे अर्थनीतिले पक्कै पनि सहकारीलाई एउटा दरिलो खम्बा बनाएको हुनुपर्छ । देशलाई समृद्धिको गोरेटोमा हिडाल्नका निम्ति सहकारीको काँध पक्कै एउटा दरिलो आधारस्तम्भ हुन सक्छ । आधारभूत नागरिकहरुको सारथि सहकारी बन्न सक्यो नाइँ ? समाजवादको आधारशीला सहकारी बन्ने योजना बुन्यो कि नाइँ ? सहकारी भूइँ मान्छेको गरिखाने साधन बन्यो कि हुने खानेहरुको साइनबोर्ड मात्र ?

सहकारीले देशको मुहारा फेर्न केही पहल ग¥र्यो कि आफ्नै सञ्चालकहरुको मात्र अनुहार उज्यालो बनायो ? करिव ६४ वर्षको नेपाली इतिहासमा सहकारीले खेलेको भूमिका र निर्वाह गरेको दायित्वलाई कसरी मूल्यांकन गर्ने ? संख्यात्मक रुपमा सहकारीले नेपालको पुनःप्रजातन्त्रसँगै उकालो लागेको देखिन्छ तर शेयरधनी सदस्यहरुको आर्थिक ग्राफले के देखाइ रहेको छ ? कहिले ठण्डा दिमाखले मन्थन भएका छन् ? सहकारी दिवस वर्षेनी चैत्र २० गते मनाइन्छ । सोही अवसरमा नारा लगाइन्छ, ब्यानर टाँगिन्छ, सहकारी सिद्धान्तका बारेमा गोडा चार ÷पाँचजनाले भट्टाइन्छ । समाचारहरु आउँछन्, खुसी मनाइन्छ तर गरिखाने वर्गलाई दिवसले के प्रभाव पारेको छ ? उनीहरुकै निम्ति भनेर सञ्चालन गरिएका सहकारीमा उनीहरुको पहुँच सुनिश्चितता पूरा भयो ? गरिखानेहरुका निम्ति केही नयाँ नियम,विनियम बने कि भाषणमा मात्र सीमित भए त्यस्ता दिवस ?

सहकारी ऐन २०४८ आउँदा देशमा करिव आठ सय ३० वटा सहकारी थिए । ती पनि धिकिर धिकिर अवस्थामा चल्दै थिए । पछिल्लो सहकारी ऐन २०७४ संसदबाट पारित हुँदा ३३ हजारभन्दा बढी प्रारम्भिक सहकारी,जिल्लास्तरको संघ तीनसय बढी,विषयगत केन्द्रीय संघ करिव २० वटा ,राष्ट्रिय सहकारी बैक र केन्द्रमा राष्ट्रिय सहकारी संघ गठन भइसकेको अवस्था थियो । यो त तथ्याङ्क न हो । पछिल्लो समय अझ्ै धेरै थएिका छन् । ७० लाख बढी सहकारीका सदस्य भएका छन् ।

सहकारीका सदस्यहरुले अन्य वित्तीय संस्थाहरुबाट वा बैंकबाटभन्दा के कुरामा सहकारीबाट बढी फाइदा पाउन सकेका छन् ? सहकारीबाट लिएको कर्जाबाट सदस्यले उद्यमशीलता,आयआर्जनमुखी क्रियाकलापमा के कसरी सार्थक सक्रियता वा सहभागिता देखाएका वा जनाएका छन् ? वर्षेनी वैदेशिक रोजगारमा जानेहरुको संख्यालाई न्यूनीकरण गरेको छ सहकारीले ? सहकारीमा कतिले प्रत्यक्ष/परोक्ष रोजगारी पाएका होलान् ? यसको कतै एकीन हिसाव होला ? सहकारी साँच्चिकै भकारी बनेको छ ? रोजगारी दिने थलो बनेको छ ? आधारस्तम्भ बनेको छ ?

यावत पक्षहरुमा छलफल,अन्तक्र्रिया गर्ने, विचार मन्थन गर्ने दिनका रुपमा सहकारी दिवसलाई मनाउनु पथ्र्यो । अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय सहकारीका गफ हाँकेर भन्दापनि आफ्ना सहकारीका सवल, कमजोर, अवसर र चुनौतीका बारेमा विश्लेषण गरी अघि बढ्नु लाभदायक हुने देखिन्छ । सहकारी संस्थाहरुमा देखिएका कठिनाइहरुलाई समयमै सम्बोधन गर्न सकिएमा जाती हुने थियो ।

सहकारी संस्थाहरु दर्ता गर्दा खेरी बनाएका विनियमका भरमा वर्षौ चल्दा खेरी समयको गति,लय पक्रिन नसेको सत्य हो । समयानुसार परिमार्जन र परिस्कृत गर्दै लैजान पाएको भए उत्तम हुने थियो । छेपारोले घोंचो समाए झैं सधैं एउटै विनियम समाएर बस्दाको दुष्परिणाम आजसम्म धेरै सहकारी नाम र दाममात्रका भए तर उल्लेखनीय प्रगति गर्न पटक्कै सकेनन् भन्ने गुनासो सुनिएका छन् ।

सहकारीमा सबैका आआफ्नै भूमिका छन् । भूमिका पाएपछिका भूमिका असल तरिकाले निर्वाह गर्नैपर्छ । सञ्चालक समितिको भूमिका के हो ? कर्मचारीको कर्तव्य के हो ? लेखा समितिको भूमिका के हो ? शिक्षा उपसमिति, कर्जा, धितो मूल्यांकन उपसमितिको भूमिका के के हुन् ? त्यो भन्दापनि शेयर सदस्यहरुको भूमिका के हो ? वार्षिक साधारण सभामा तालीमात्र पिट्ने कि ? अधिवेशनमा भोटमात्र हाल्ने कि ? सधैं पिछलग्गु बन्ने कि, आफू पनि नेतृत्वमा आउने ? सहकारीको नीति, नियम बनाउने काममा सार्थक सहभागिता जनाउने कि टाउको मात्र हल्लाउने ? सहकारी दिवसमा यिनै कुराहरुलाई हेक्का राखे काफी हुने छ ।

सहकारीको सदस्य बन्नु भनेको एउटा जिम्मेवारी बोध गर्नु हो । सहकारीमा सदस्य हुनु भनेको सहकार्य र सहयात्रा गर्नु हो । सहकारीमा संलग्न हुनु भनेको सम्बन्ध कायम गर्नु हो । सहकारीबाट समाजवादतर्फ उन्मुख हुनु हो ।

https://www.globalaawaj.com/archives/94580