धेरै हाउगुजी झैं यो एसईईको परीक्षा पनि हाउगुजी बनेर आउँदैछ भाइबहिनी माझ । जेठमा शुरु हुने यस परीक्षाले विद्यार्थी, अभिभावक, शिक्षक लगायत यससँग सम्बन्धित व्यक्ति, संघसस्था अनि सरकारी अधिकारीको चासोको विषय बनाउँछ । कक्षा दशको परीक्षालाई सामान्य मानिनु पर्ने हो तर अनावश्यक रुपमा ज्यादा महत्वको विषय बनाईंदा यसबाट विद्यार्थीहरु बढ्ता चापमा पर्ने गरेका छन् ।
के धेरै पढेर मात्र एसईई परीक्षामा धेरै अंक अथवा ग्रेड ल्याउन सकिन्छ त ? हाम्रो अध्ययन प्रतिको धारणा शिक्षाविद् सर केन रोविन्सनले भने झैं शरिरलाई स्थिर राखी दिमागलाई मात्र चलाएर गर्न सक्दा अब्बल होईन्छ भन्ने छ । हाम्रो शरिरको परिचालन दिमागी तन्दुरस्तीसँग सम्बन्धित छ भन्ने रहस्य वा ज्ञान त्यति महत्वको मानिन्न । कक्षा दश पढेर परीक्षामा राम्रो अंक हासिल गर्दा आफुले चाहेको विषय, चाहेको शैक्षिक संस्थामा भर्ना गर्न पाईन्छ भन्ने आशामा विद्यार्थीहरुलाई अलिक दबाव महशुस हुने गर्छ । यसमा विद्यालयको गुणस्तर र ईज्जतको सवाल अनि नीजि शैक्षिक संस्थाको त व्यापारको संभावना भईगो ।
म कुनै शिक्षक वा शिक्षाविद होईन तर अध्ययन गर्ने कुरामा रुचि राख्ने हुनाले आफ्नो अनुभव मात्र भाईबहिनीलाई बांढ्न मन लागेको। अहिले सबै जसो घरमा कोही न कोही यो एसईइ परिक्षाको लागि तयारी गरिरहेका छन् । प्रायः विद्यार्थीहरु झ्यालढोका थुनेर, कसैसँग संवाद नगरेर, घरबाहिर ननिक्ली, लगातारको ट्युशन कक्षाको पेलान आदिले गर्दा झनै तनावमा देखिन्छन् । घरका अभिभावक, शिक्षक, छरछिमेकहरु मानौं निरन्तर उनीहरुमाथि निगरानी गरेझैं देखिन्छ ।
म यहाँ बिशुद्ध प्राविधिक तरिका भन्न यो लेख लेखेको छैन । यसको लागि विज्ञ, शिक्षक, मेमोरी किङ मास्टर्सहरु बजारमा जति पनि छन् । म केवल पढ्ने अभ्यासलाई सजिलो र प्रभावकारी अनि तनावरहित कसरी बनाउन सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र विश्वका अध्ययनलाई आधार बनाई केही उपाय बताउन गईरहेको छु । पढ्ने कुरा चौविसै घण्टा किताब हेरेर मात्र वा घोत्लिने कुरो होईन । यसमा उपर्युक्त पोषण, आराम, शारिरीक सक्रियता जसमा योगका सामान्य अभ्यास (जस्तो प्राणायाम, अलोम विलोम आदि), ध्यान तथा अध्ययन पश्चात् केही समय हिंडडुल जस्ता असाध्यै साधारण उपाय नै हुन् ।
पोषणको रुपमा दिमागलाई सक्रिय र स्मरणकोलागि प्रोटिन लगायत सन्तुलित खाना, पर्याप्त पानीको सेवन अनि फलफुललाई आफ्नो खानामा समावेश गर्नुपर्छ । भनिन्छ, हामीले जे खान्छौं त्यही विचार र ईच्छाशक्ति हामीमा आउने गर्छ । अध्ययनले के पनि देखाएको छ भने परीक्षा अगावै केही गिलास पानी खाएर जाँदा हामीले पढेका कुराहरूको स्मरण गर्न सकिन्छ ।
विहान उठ्ने वितिक्कै हातमुख धोई मन तातो पानी खाँदा शरिर र दिमागमा हुनु पर्ने रक्तसंचारमा पुनर्ताजगी आई हाम्रो मुड र सकारात्मक भावमा वृद्धि हुन्छ । त्यसपछि केही समय घरबाहिर गई खुलाठाउँ विशेषगरि हरियो ठाउँमा बसी प्राणायम वा श्वासप्रश्वासको अभ्यास गर्दा दिमाग र शरिरमा अक्सिजनको मात्रा बढ्दछ । जसले हाम्रो दिमाग निकै सक्रिय हुन्छ अनि अध्ययन गर्दा जे पनि ग्रहण गर्न सजिलो हुन्छ । भनिन्छ कुनै कुरा चिन्तन गर्न वा स्मरण गर्न हिंडनु पनि निकै प्रभावकारी हुन्छ । यसले सम्झन पर्ने वा स्मरण गर्न पर्ने ज्ञान वा विचार वा तथ्यांकलाई दिमागमा छाप्न (Imprint) सकिन्छ ।
अनि हामीले पढ्दा एकपटकमा एक घण्टा भन्दा बढी अध्ययन गर्दा दिमागमा बोझ भै ध्यान एकीकृत गर्न सकिन्न । त्यही भएर १०/१५ मिनेट विश्राम लिँदै पढ्नु पर्छ । बरु बेला बेला दिमागलाई आराम दिने र ध्यान लगाउने संगित सुन्न पनि सकिन्छ । कक्षाकठाको किताबी ज्ञान निकै निरस हुन्छ । त्यस्तो बेला बाहिरी कथा, कविता वा छोटा उपन्यास पनि पढ्न सकिन्छ । यसो गर्दा मन आनन्दित भई दिमाग ताजगी हुन्छ । तनाव लिन पटक्कै हुन्न । जति अभ्यास गर्यो त्यति आत्मबल बढ्ने हो । एककिसिमको ड्रिल नै हो । अभ्यास, अभ्यास अनि अभ्यास । धेरै अंक आउनुमा कुनै रहस्य छैन । माथि उल्लिखित तरिका तपाईं भाइबहिनीहरुले एकपटक प्रयोग गरिहेर्दा यहाँहरुलाई लाभ नै मिल्दछ । यो मेरो तरिका हो जसबाट मलाई पनि आफ्नो क्षेत्रमा सफलता मिलेको छ । (लेखक पोखरेल एसओएस बालग्राम धनगढीमा कार्यरत छन् ।)
प्रतिक्रिया