ताजा अपडेट »

भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल

आइतबार, २६ जेठ २०७६

जेठ २६,

काठमाडौँ।  नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ ।नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो ।

घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं. कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्‍यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो।

‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन् ।नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो । -नागरिक