कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आबद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा शुरु गरेको छ । महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमको सोमबार महानगर प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे ।
प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार बद्रीविनोद प्रतीक र उनकी श्रीमती सावित्री खनाललाई बीमा परिचयपत्र हस्तान्तरण गरेर प्रमुख जिसीले बीमाको कार्यक्रम शुभारम्भ गरेका थिए । बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्म परिवारका सदस्य रहेका पत्रकारको वार्षिक रु तीन हजार ५०० भुक्तानी महासङ्घबाट गरिने र परिवारका सदस्यले वार्षिक रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा बीमाबाट प्राप्त गर्ने शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। उनका अनुसार देशमै पहिलोपटक शुरु गरिएको यस कार्यक्रममा शाखामा आबद्ध ३०० पत्रकारको परिवारका सदस्यको बीमा गरिनेछ । पाँच जनामाथिको परिवारका सदस्यका लागि प्रतिसदस्य रु ७०० भुक्तानी गरिने बताइएको छ ।
महानगरले स्थापना गरेको पत्रकार कल्याणकारी कोषअन्तर्गत अघिल्लो दुई आर्थिक वर्षमा रु ४५ लाख बजेट निकासा भएको र चालु वर्षमा रु २० लाख थप गरेर रु ६५ लाख पुर्याइने र सोको ब्याजबाट पत्रकारका परिवारको बीमा गरिने महासङ्घले जनाएको छ । सो कोषलाई वृद्धि गरी रु एक करोड बनाउन महानगरसँग आग्रह गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, “पोखराका पत्रकारको स्वास्थ्य बीमा गर्न पाए हुन्थ्यो भन्ने ठूलो सपना थियो, लामो प्रयासपछि अत्यन्त मेहनतका साथ त्यसलाई फत्ते गरेका छौँ । पत्रकार र उहाँहरुको परिवारका सबै सदस्यको बीमा गर्ने सपना पूरा भएको छ ।”कार्यक्रममा महानगर प्रमुख जिसीले आफूू निर्वाचित भएर आएपछि पत्रकारका लागि देखिने गरी उपलब्धिमूलक काम गर्ने योजना रहेको चर्चा गर्दै स्वास्थ्य बीमा कार्यक्रमबाट पत्रकारसहित उनीहरुका परिवारलाई समेत सहयोग मिलेको बताए । स्वास्थ्य बीमा बोर्ड गण्डकीका प्रमुख जीवलाल खरेलले प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा कार्यक्रम लागू भएको भन्दै हालसम्म कार्यक्रम प्रभावकारीरूपमा अघि बढेको जानकारी दिए । सेवाग्राहीको अनुकूलताका आधारमा सेवा केन्द्र छनोट गर्न सकिने बताउँदै उनले सेवाका सम्बन्धमा उठेका गुनासालाई क्रमशः सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया