ताजा अपडेट »

कर्मचारी र जनप्रतिनिधिबीच चर्को विवाद, सेवाग्राही मारमा

मंगलबार, १० चैत्र २०७७

भैरहवा । रुपन्देहीको बिभिन्न स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीहरुबीच पटक-पटक विवादहुँदै आएको छ । विशेष गरि जिल्लाको दक्षिणी भेगमा यो समस्या विकराल रहेको छ । जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नहुँदा यसको प्रत्यक्ष असर सम्बन्धित स्थानीय तहको विकास निर्माणको साथै सेवाग्राहीलाई दिइने सेवाहरुमा परेकोछ ।

कर्मचारी र जनप्रतिनिधिबीच विवाद हुने क्षेत्रहरु मध्ये मर्चवारी गाउँपालिका अग्र स्थानमा रहेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको यस गाउँपालिकामा दुबै सेवाप्रदायकहरुले आ-आफ्नै तरिकाले गाउँपालिका हाक्न खोज्दा त्यसको चेपुवामा त्यहाँका गाउँपालिका बासी पर्ने गरेका छन् । यस अघि पनि पटक-पटक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिँदै आएका छन् । जनप्रतिनिधिले दबावमा राखेर काम गराउन खोजेको कर्मचारीको आरोप हुने गरेको छ भने कर्मचारीले आफूखुशी काम गरेर जनतालाई दुःख दिने गरेको जनप्रतिनिधिहरुको गुनासो रहने गरेको छ ।

यस्तै अहिलेको विवादको मूख्य विषय कार्यसम्पादन मूल्यांकन पनि हुने गरेको छ । विभिन्न बिकास निर्माणका काममा गाउँपालिकाले भएका कामको पनि मूल्यांकन नगरेको प्रायः स्थानीय तहका जनप्रतिनिधिको गुनासो रहेको छ । प्रत्येक कार्यको कार्यसम्पादन मूल्यांकन गर्दा योजना अनुसारको प्रतिशतमा रकम घुस माग्ने गरेको उनिहरुले कर्मचारीलाई आरोप लगाउने गरेका छन् । यस्तै कर्मचारीले पनि जनप्रतिनिधिले हुँदै नभएको कामको पनि मूल्यांकन गर्न दबाव दिने गरेको आरोप लगाउने गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनकै विषयमा विवाद हुँदा अहिले मर्चवारी गाउँपालिकाका कर्मचारीहरु गाउँपालिका नै छोडेका छन् । चैत्र ८ गते मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण बहादुर यादवले कर्मचारीमाथि अश्लील गाली गलौज गरेको तथा हातपात गरेको भन्दै कानूनी कारवाही र जीऊ ज्यानको सुरक्षा नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन् । मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले वडा अध्यक्षलाई कारवाही नभएसम्म जिल्ला प्रशासन कार्यालयमै हाजिर गर्ने बताए ।

मर्चवारी गाउँपालिकाका प्रवक्ता समेत रहेका यादवले प्राविधिक फाँटमा कार्यरत असिष्टेन्ट सब–ईन्जिनियर प्रेमसागर पासवानलाई हातपात गरेको कर्मचारीहरुको आरोप छ । हातपातको आरोप लगाउँदै कर्मचारीहरुले सूचना नै जारी गरेर गाउँपालिका बन्द गरेका छन् । अहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा, कृषि शाखा लगायत सबै फाँटमा ताल्चा लागेको छ । यसले गाउँपालिकामा सेवाको लागि आउने सेवाग्राहीहरु मारमा परेका छन् ।

कुटपिट गरेको आरोप लागेका वडा अध्यक्षले भने आफूले कुनै अनैतिक व्यवहार तथा कुटपिट नगरेको दाबी गरेका छन् । भएका कामको पनि मूल्यांकन नगरेको भन्ने उपभोक्ताहरुको गुनासो आएपछि प्राविधिकसंग त्यस विषयमा सामान्य भनाभन भएको उनले स्वीकारेका छन् । “वडा नम्बर २ र ३ का वडा अध्यक्षसंगै थियौ, कार्यसम्पादन मूल्यांकनको विषयमा कुराहुँदा प्राविधिकले हाकीम र लेखाले भने अनुसारको मात्र नाप देखाउने भने पछि प्रतिवाद गरेको हो ।” यादवले भने “हाकीम र लेखा अधिकृतले भनेको अनुसार नाप मात्रै देखाउने हो भने फिल्ड जाने नाटक किन गर्नु पर्यो ?”

९० लाखको योजनालाई थोरै काम भएको देखाउँदै ३० लाख रुपैयाँ घटाइदिएको यादवले आरोप लगाएका छन् । “यस्तै गर्ने हो भने कुनै पनि काममा उपभोक्ताले चासो लिदैनन् । उनिहरुले गरेको काम अनुसार नै भुक्तानी हुनु पर्छ, हाम्रो रोहवरमा नाँपजाँच हुनुपर्छ ।” यादवले भने ।
यो समय प्राय स्थानीय तहहरुको पूंजिगत खर्च हुने समय हो । बिकास निर्माणका कामदेखी बिभिन्न कार्यक्रमहरुको पनि काम हुने, रकम निकासा हुने लगायतको समयमा कर्मचारीहरु हड्तालमा गएका छन् । यसले गाउँपालिकाको समग्र बिकासमा असर पर्ने भन्दै गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले चिन्ता ब्यक्त गरेका छन् । उनले गाउँपालिकाका अधिकांश कर्मचारी जिल्ला प्रशासन कार्यालय गएर मात्र आफूलाई कार्यालय नआउने जानकारी गराएको बताए । “यहि बसेर पनि हामी–हामी बिच कुरा हुन सक्थ्यो, यसलाई छिटो टुंग्याएर काममा फर्किने वातावरण मिलाउने छु ।” बनियाले भने ।

कर्मचारी र जनप्रतिनिधि बीचको यो विवादमा निजामति कर्मचारी आवद्ध बिभिन्न संघ संस्थाले पनि चासो देखाएका छन् । जनप्रतिनिधि र कर्मचारीहरु बीच नङ र मासुको सम्बन्ध नभएसम्म विकास हुनै नसक्ने भएकोले उनिहरु बीच समन्वय अनिवार्य हुनु पर्ने नेता कर्मचारीहरुले सुझाव दिएका छन् । नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईले मध्यस्तकर्ता हुनु पर्ने जनप्रतिनिधि नै कुटपिटमा उत्रिन थाले त्यहाँ बिकास हुन नसक्ने बताए । संगठनले जनप्रतिनिधि र कर्मचारीहरु बीच सम्बन्ध राम्रो गराउने प्रयासस्वरुप एक चरणको कार्यक्रम सम्पन्न गरि सकेको उनले बताए । “जनप्रतिनिधिका कर्मचारी प्रति गुनासा छन्, कर्मचारीका जनप्रतिनिधि प्रति गुनासा छ । यी दुई बीच समन्वय आवश्यक छ ।” भट्टराईले भने ।