बुटवल । रुपन्देहि जिल्ला शारीरिक सुसंगठ तथा फिटनेस संघले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यसहित आफ्नो नियमित बैठक आयोजना गरेको छ । संघले ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित शुक्रकार आफ्नो नियमित बैठक बुटवल–३ मा अवस्थित रामापिथेकस पार्कमा आयोजना गरेको छ ।
खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देशसहित बुटवलमा पहिलो पटक आयोजना हुन लागेको ‘मिष्टर रामापिथेकस प्रतियोगिता’ लाई सफल बनाउन संघले आफ्नो तयारी बैठक रामापिथेकस पार्कमा आयोजना गरेको अध्यक्ष सितुप्रसाद श्रेष्ठले जानकारी गराए । बैठकले रिक्त रहेका सदस्य पदमा सन्जु मगर, पुर्ण कुंवर र आशिष श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ । साथै आउँदो आगामी प्रतियोगितालाई सभ्य र ऐतिहासिक बनाउन आवश्यक तयारी गर्ने सहमति गरेको छ ।
फागुन २४ र २५ गते हुन हुने राष्ट्रिय स्तरको पुरुष शारिरिक सुसंगठनको फिटेनस प्रतियोगिताको लागि नियमित तयारि बैठक बसेको हो । कोभिड-१९ को प्रभावसँगै आर्थिक अभावले रोकिएको क्रियाकलापलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठले बताए । प्रतियोगितामा देशभरका १५० खेलाडि सहभागि अनुमान गरिएको छ । २० लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिताका लागि विभिन्न संघ संस्था तथा प्रायोजक संस्थाबाट सहयोग जुटाउने संघको लक्ष्य रहेको छ ।
यसैबीच नेपालमा शारिरीक सुगठन खेलमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रतियोगिताको अवसरमा सम्मान प्रदान गरिने संघले जनाएको छ । नेपाली झण्डा बोकेर देशको प्रतिनिधित्व गर्दै विदेशमासमेत पहिचान दिलाउन सफल शारिरीक सुगठनका पहिलो पुस्ताहरु सरोज श्रेष्ठ, बिकास प्रधान, प्रतापकाजी बरिया, ज्ञनेन्द्र नकर्मी, इश्वर श्रेष्ठ लगायतलाई सम्मान गरिने भएको हो । यसैगरी अन्तर्राष्ट्रि पदक भित्र्याउन सफल हरिस श्रेष्ठ, सचित प्रधान, जीवन गिरी, श्याम श्रेष्ठ, सुजन तामाङ, ज्ञान नारायण महर्जन र बिरु महर्जन लगायतलाई सम्मान गरिने संघले जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय शारिरीक सुगठन खेलमा महिलातर्फ शुरुवात गर्ने खेलाडी निर्मला महर्जनलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया