दमौली । तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन् । व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन् ।
आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा, क्यान्सरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाले शिविरकै क्रममा उपचार पाएका छन । जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएका छन् । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने पौडेलले जानकारी दिए।
शिविरको पहिलो दिन वडा नं ९ का १७२ जना महिलाले सेवा लिएका थिए । सो ठाउँमा परीक्षण गरिएकामध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै वडा नं ८ का ११५ जना महिलामा गरिएको परीक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको छ । वडा नं १० का ८१ महिलामा गरिएको परीक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको छ भने वडा नं ११ मा ८९ जनामा गरिएको परीक्षणमा ४० प्रतिशतमा आङ खस्ने समस्या पाइएको छ ।
शिविरमा भिआइए विधिबाट पाठेघरको मुखको क्यान्सरसम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुनसक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले जानकारी दिए।त्यस्तै ५० प्रतिशतभन्दा बढी महिलामा पानी बग्ने समस्या र करीब ३५ देखि ४० प्रतिशतमा आङ खस्ने समस्या देखिएको उनले बताए । आङ खस्ने समस्याको पहिलो चरणका महिलालाई औषधि आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गर्न सुझाव दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले बताए ।
त्यस्तै दोस्रो चरणमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो चरणमा पुगेका महिलालाई तत्कालका लागि औषधि र अन्य उपचार गरिएको छ । आङ खस्ने समस्याको तेस्रो र चौथो चरणमा रहेका महिलालाई एक महीनापछि काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।
विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास नगरपालिका–११ निवासी ८४ वर्षीया विष्णुमाया भुजेलले यतिका वर्षपछि उपचार पाउँदा खुशी लागेको बताए । पाठेघरको समस्याको उपचारबारे थाहा नपाएर यतिका वर्ष पीडा सहेर बस्न बाध्य भएको बताउँदै उहाँले घरदैलोमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताए ।
स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना शुरु
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले हरेक स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना शुरु गरेको छ । सर्वसाधारणलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गराउने उद्देश्यले स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना शुरु गरिएको हो ।
जिल्लाको घिरिङ, देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए । आधुनिक चिकित्सा प्रणालीभन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको बस्नेतले बताए ।
“सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बस्नेतले जानकारी दिए । “पछिल्लो समय कोरोना महामारीका बेला सर्वसाधारणले आयर्वुेदको महत्व बुझँे”, उनले भने, “यसको महत्व सर्वसाधारणलाई बुझाउन थप प्रचारप्रसार गरछै ।”
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए। आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।
सबै नागरिकलाई स्वस्थ बनाउन गाउँगाउँमा यस्ता सेवा केन्द्र स्थापना गरिएको डा मण्डलले बताए । “यसअघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो”, उनले भने, “नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो ।”
घिरिङ गाउँपालिका–३ मानपुरमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले उद्घाटन गरे । सो अवसरमा सांसद सिग्देलले सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य रहेको बताए । “सोहीबमोजिम यो आरोग्य सेवा केन्द्र स्थापना भएको हो ।
पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएको छ”, उनले भने, “सबै नागरिकले यसको सेवा उपभोग गर्नुपर्छ ।” सांसद सिग्देलले स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो लगानी गरेको बताउँदै नागरिकले पनि सरकारी स्वास्थ्य संस्थाबाट पाउने सेवा लिनुपर्नेमा जोड दिए।घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङमा स्थापना भएको केन्द्रबाट नागरिकले सेवा लिनुपर्ने बताए ।
प्रतिक्रिया