ताजा अपडेट »

होटल व्यवसायी मेची-महाकाली अभियानमा

मंगलबार, ०३ चैत्र २०७७

बुटवल । पर्यटन प्रबद्र्धन गर्न र जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले मेची–महाकाली अभियानशुरु गरेको छ । यसैबीच मंगलबार रुपन्देहीको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघसंग भेटघाट गरेको छ । कोभिड संक्रमणका कारण धरासायी बनेको पर्यटन क्षेत्र र होटल व्यवसायलाई पुनरुत्थानका लागि कपिलवस्तुबाट प्रचार प्रसार कार्यक्रम शुरु गरिएको हो ।

जिल्लाबाट १८ सदस्यीय टोली आज चैत्र ३ देखी १४ गते सम्मको अभियानमा हिँडेको हो । टोलीलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीमा आएर जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलको बारेमा जानकारी गराएको हो । रुपन्देहीले उक्त अभियानलाई सफल बनाउन एक्यबदता जनाएको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए । देशका ७ वटै प्रदेशमा पुग्ने टोलीले कपिलवस्तु जिल्लाको पुरातात्विक र पर्यटकीय क्षेत्रको प्रचारात्मक सामाग्री र बृत्तचित्रसहित सातै प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुग्नेछ । त्यहाँ पुगेर होटल व्यवसायीका समस्या बारे ज्ञापन पत्र बुझाउदै कपिलवस्तुका पर्यटकिय क्षेत्रको भ्रमणका लागि निमन्त्रणा समेत दिइने जनाएको छ ।

त्यसै गरि सम्बन्धित जिल्लाका होटल व्यवसायीसँग पर्यटक आवागमन बृद्धिका लागि अन्तरक्रिया गर्ने टोलीको योजना छ । मेची-महाकाली पर्यटन प्रबद्र्धन अभियानमा जान लागेको टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै सम्बन्धित प्रदेशमा आवश्यक समन्वय गरि दिन आग्रह गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपालबहादुर खत्रीले जानकारी दिए ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आन्तरिक पर्यटक नै पर्यटनको प्रमुख माध्यम बनाउनमा पर्यटन व्यवसायीलाई जोड दिए । उनले अभियानलाई सफल बनाउन सके प्रदेशकै पर्यटकीय स्थलको संरक्षणमा टेवा पुग्ने धारणा राखे । होटल व्यवसायी संघ रुपन्देहीका निर्वतमान अध्यक्ष समुन्द्र जिसीले कोरोनाले थला परेको पर्यटन व्यवसायलाई अभियानले केही टेवा पुग्ने धारणा व्यक्त गरे ।