ताजा अपडेट »

नेकपाको सचिवालय बैठक बस्दै

मंगलबार, २१ जेठ २०७६

जेठ २१, काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने गरी बैठक बस्न लागिएको हो ।

बरिष्ठ नेता माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएपछि नेकपाभित्र तरङ्ग उत्पन्न भएको छ । यस सम्बन्धमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेता माधवकुमार नेपालसँग छलफल समेत गरिसकेका छन् । तर उनिहरुको भेटमा भएको छलफलका बारेमा भने केही विषय बाहिर आएको छैन् । नेकपाका दुई अध्यक्ष ओली र अध्यक्ष दाहालबीच सोमबार दिउँसो बालुवाटारमा भएको छलफल पछि आज दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाईएको नेताहरुले बताएका छन् । नेकपाले केन्द्रीय समितिका नेताहरुको कार्यबिभाजन टुंग्याउन र पोलिटब्यूरो पनि बनाउन बाँकी छ ।

नेकपाको जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको थियो । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ सदस्यीय पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्य बिभाजन गर्न बाँकी छ । नेताहरुले हाललाई पोलिटब्युरो गठन नगरेर पहिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयास गरेका छन् । यस विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।