राष्ट्रपतिलाई भेट्न जाने दुईवर्ष अघिदेखिको योजना यसवर्षको फागुन १९ गते विहिवार दिनको एक वजे पूरा भयो । हामीले सिद्धबाबा मन्दिरको महिमा र गरिमाका सन्दर्भमा प्रकाश पार्नुका साथै उपयुक्त समयमा सिद्धबाबा मन्दिरमा दर्शनका निम्ति राष्ट्रपति ज्यूलाई निम्तो दिनका निम्ति राष्ट्रपतिको कार्यालय, शितल निवास पुगेको थियौं ।
हामीलाई राष्ट्रपति कार्यालयसम्म पुराउनका निम्ति केन्द्रीयस्तरमा संघीय संसदका सदस्य माननीय डा.बिन्दा पाण्डे, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्वसभापति सिर्जना काफ्ले र स्थानीय तहमा संयोजन गर्ने काम प्रेम श्रेष्ठले गरेका थिए । संयोजन गर्ने सबैलाई हार्दिकतापूर्ण धन्यवाद् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी, राष्ट्रपति कार्यालयका उपसचिव हीरामणि आचार्य र संस्कृतविद् घनश्याम कोईरालाको उपयुक्त सहकार्य, सुझाव र संयोजनप्रति कृतज्ञता प्रकट गर्दछौं ।
कडा सुरक्षाकाबीच हामी कार्यालयमा प्रवेश गरी सचिवालयमा प्रतीक्षाको घडीसँगै चिया खायौं । त्यसपछि हामी हलमा प्रवेश गरेका थियौं । करिव १५ मिनेटको प्रतीक्षापछि राष्ट्रपति ज्यूको आगमन भयो । हामी सबैले उठेर हार्दिकतापूर्ण अभिवादन गर्यौं । उहाँले बस्नुसको इसारा गर्नु भयो तर उहाँ नबसी हामी बसेनौं । राष्ट्रपति ज्यूले कुरा सुरु गर्न भन्नु भयो । त्यसपछि मैले राष्ट्रपति ज्यूलाई सम्बोधन गर्दै आफ्नो र मसँगै गएका साथीहरुलाई परिचय गराएँ । मसँग समितिका उपाध्यक्ष सन्तोषकुमार शेरचन, सहसचिव विष्णु पाण्डेय, कोषाध्यक्ष दुर्गाबहादुर थापा, सदस्यहरु तोया लम्साल र सिद्धबाबा मन्दिर रहेको वडाका वडाध्यक्ष एवम् मन्दिर विकास समितिका सदस्य प्रेमप्रसाद पाण्डेय थिए ।
सिद्धबाबा मन्दिरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्वाका सन्दर्भमा जानकारी गराउँदै सिद्धबाबा मन्दिर विकास समितिले विगतदेखि वर्तमानसम्म गरेका कामहरुको बारेमा बेलीबिस्तार लगाउँदै, भावी योजनाका बारेमा छर्लङ्ग पार्ने काम गरियो । हाम्रा समस्याहरु, चुनौतीहरुका बारेमा अवगत गराएका थियौं । केही बेर म आफूले उठेर मन्दिरका बारेमा बताउँदै गर्दा श्वर काँपेको जस्तै भएपनि पछि लय समाउँदै गएँ । करिव आधाघण्टा सिद्धबाबा मन्दिरसँगै आदिमानव रामपिथेकसको बंगारा भेटिएको थलो र यस क्षेत्रको प्रागैतिहासिक महत्वका बारेमा बताउँदै गर्दा राष्ट्रपति ज्यूले ध्यानपूर्वक सुनिरहनु भएको थियो ।
सिद्धबाबा मन्दिरसँग उज्जैन राज्यका राजा भर्तृहरिको सम्बन्ध, उनले यहाँ बसेर रचेको भनिएको नीति सतक्, बैराग्य सतक् र श्रृङ्ग्गारिक सतक्का विषयमा मैले जानेजति प्रष्ट्याउने कोशिस गरेको थिएँ । यही पवित्र भूमिमा भर्तृहरिले ध्यान गरी सिद्धि प्राप्त गरेको हुँदा यस मन्दिरको नाम सिद्धबाबा रहन गएको हो भन्ने किंवदन्ती सुनाईरहँदा राष्ट्रपति ज्यूले टाउको हल्लाइ रहनु भएको थियो । भारत गोरखपुरमाम रहेको गोरखनाथ मन्दिर र सिद्धबाबा मन्दिरबीचमा रहेको सम्बन्धलाई भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीसँग सहकार्य गरी भगिनी सम्बन्ध कायम गर्न निकट भविष्यमा उनलाई भेट्न जाने प्रसंग र सिद्धबाबा मन्दिरमा आउने भक्तजनहरु मध्ये भारतबाट आउनेको संख्या उल्लेख्य रहने समेत बताउन पाउँदा हामी खुसी भयौं ।
मैले कुरा राखेर भ्याईएपछि प्रेम श्रेष्ठ र प्रेम पाण्डेयले सडक नजिकै रहेको सिद्धबाबा मन्दिरको भविष्य र सडक डिभिजन कार्यालयले सडक छेउमै रहेका टहरा, मठमन्दिर र घरहरु हटाउने कुराका बारेमा समेत अवगत गराएका थिए । राष्ट्रपति ज्यूले धार्मिक आस्थाको केन्द्र , सिद्धबाबा मन्दिरले गरेको आम्दानीबाट पाल्पाको तिनाउ गाउँपालिकाभित्र रहेको शैक्षिक क्षेत्रको उन्नयन, वन, वातावरण, जैविक विविधता, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा खेलेको भूमिका र लुम्बिनी प्रदेशकै पशुपतिनाथ बनाउने अभियानलाई सम्मान प्रकट गर्नुभयो । युवासाथीहरुले सिद्धबाबा मन्दिरको विकासमा पुराउनु भएको योगदानप्रति सम्मान प्रकट गर्दै आफूलाई सिद्धबाबा मन्दिर नै पुगेको अनुभूति भएको बताउँदै गर्दा हाम्रा अनुहार खुसीले धप्प बलेका थिए ।
एकछिन जनप्रतिनिधिहरुका भूमिका र वर्तमान परिवेशका सन्दर्भमा छलफल भयो ।अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माले पुस्तकमा आफ्नो विषयमा केही लेखिनु पर्ने कुरा र हुलाक टिकटमा आफूलाई छापिएमा जाती हुने बताउँदै गर्दा हामी राष्ट्रपति ज्यूसँग नजिक भइसकेका थियौं । खुलेर कुरा गर्ने परिवेशमा पुगेका थियौं । सिर्जना काफ्लेले थप केही कुरा राखिदिनु भयो । सिद्धबाबालाई थप परिचय गराइ दिनुभयो । हामी सबैले बोलेका कुराहरुलाई राष्ट्रपति कार्यालयका सूचना एवम् सञ्चार सचिव सोमकुमार राईले टिपिरहनु भएको थियो । उहाँसँग सम्पर्क र समन्वय भइरहेको अवस्था छ अहिले पनि ।
करिव डेढघण्टा राष्ट्रपति ज्यूसँग कुराकानी भइसकेपछि हिड्ने बेलामा उहाँले आफू जसरी नि सिद्धबाबा मन्दिरको दर्शन गर्न आइपुग्ने बताउनु भयो । हाम्रो निम्तोलाई सजिलै स्वीकार्दै सचिवालयसँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्नुभयो । हामीलाई राष्ट्रपति ज्यूसँग फोटो खिच्ने रहर थियो तर हामीसँग क्यामेरा, मोबाईल केही थिएन ।
राष्ट्रपति ज्यूले हामी सबैलाई फोटो खिच्न अनुरोध गर्नुभयो अनि भन्नु भो-सिद्धबाबा मन्दिरमै पुगेर फोटो खिचे जस्तै लाग्यो । सिद्धबाबा मन्दिर विकास समितिमा लागेर प्राप्त गरेका उपलब्धिहरुमध्ये राष्ट्रपति ज्यूसँग भेटघाट, कुराकानी र निम्तो दिन पाउनु पनि एउटा मुख्य उपलब्धि रह्यो । हामीले मन्दिरलाई थप व्यवस्थापन र यसबाट आएको आम्दानीलाई तिनाउका सबै क्षेत्रमा लगानी गर्ने सोचका साथ अघि बढीरहेका छौं । निकट भविष्यमा राष्ट्रपति ज्यूबाट सिद्धबाबा मन्दिरको दर्शन हुनेछ भन्ने विश्वास लिएका छौं ।
राष्ट्रपति ज्यूसँग भेट भएपछि हामीहरुमा उर्जा आएको छ । उत्साह थपिएको छ । जाँगर पलाएको छ । देशको राष्ट्रप्रमुखसँग भेट्न पाउँदा गौरव महसुस भएको छ । मन्दिर विकासका निम्ति कर्तव्यनिष्ट भइ निरन्तर सक्रिय हुन रहर जागेको छ ।
प्रतिक्रिया