तानसेन । कालीनदीमा मात्रै भेटिने शालिग्राम संरक्षणका लागि रामपुर नगरपालिका–१ खटाङ टापुधामस्थित शालिग्राम सङ्ग्रहालय बनेको छ । रामपुर नगरपालिकाको रु आठ लाख तथा पर्यटन बोर्डको रु पाँच लाख गरि कूल रु १३ लाखको लागतमा सो सङ्ग्रहालय निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विश्वमै दुर्लभ मानिएका शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइने भएकाले यसको संरक्षण गरेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।सङ्ग्रहालयमा विभिन्न देवी देवताका प्रतिविम्बका रुपमा रहेका शालिग्राम हेर्न देश तथा विदेशबाट पर्यटक आउने उनको विश्वास छ । नगरप्रमुख थापाले रामपुरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्ग्रहालयले सहयोग पुग्ने बताए ।
सङ्ग्रहालयमा स्थानीयवासीले सङ्कलन गरिएका दुई हजार ६१६ शालिग्राम राखिएका छन् । विगत आठ/नौ वर्षदेखि शालिग्रामको धार्मिक महत्व, यसको खोजी र अध्ययनमा लागेका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने चिन्ता लागे पनि सङ्ग्रहालय बनेपछि खुशी लागेको बताए ।
हिन्दू धर्मानुसार भगवान्को विभिन्न रुपसँग बयान गर्दै पूजाआरधना गर्ने शालिग्राम जन्माउने आमा कालीगण्डकी तथा उसकै सन्तान शालिग्राम रहेको नदी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको चालिसेको भनाइ छ । मानव निर्मित मूर्ति जताततै भेटिए पनि स्वयं मूर्ति कालिनदीमा मात्रै भेटिने भएकाले नयाँ पुस्तामा समेत यसको पहिचान दिनका सङ्ग्रहालयले सहयोग गर्ने डा चालिसे बताए ।
उनले रङ, चक्र, आकारको आधारमा कुन मूर्ति कुन भगवान्को भनेर चिनिए पनि गोलो आकारको एक मुठिमा छोपिने शालिग्राम हुने उल्लेख गरे । डा चालिसेले कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भेट्न सकिने बताए।
कालीनदीमा बढी भएको पानीलाई डाइभर्सन गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिँचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ । यसबाट शालिग्रामको अस्तित्व हराउने होकी भन्ने यस क्षेत्रका नागरिकले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया