ताजा अपडेट »

चौथो रबि किरण भलिबल खेलको उपाधी मणिमुकुण्डलाई

विहीबार, २७ फागुन २०७७

कञ्चन । जनआस्था पृथ्वी क्लब, कञ्चन-४ रुपन्देहीको आयोजनामा चौथो रबि किरण भलिबल खेल प्रतियोगिताको उपाधी मणिमुकुण्ड भलिबल क्लब तिलोत्तमाले हात पारेको छ । मणिमुकुण्डले इभालुएसन क्लब अफ तामनगरलाई ३-० को सोझोसेटमा पराजित गरी उपाधी हात पारेको हो ।

उपाधी हात पारेसंगै मणिमुकुण्डले ३० हजार नगदसहित स्मृतिकप र मेडल प्राप्त गरेको छ भने उपविजेता इभालुएसन क्लब अफ तामनगरले २० हजार सहित कप र मेडल प्राप्त गरेको छ । यस्तै तेश्रो स्थानका लागि बाणगंगा स्पोर्टस क्लब कपिलबस्तु र चेतनशिल युवा क्लब, कञ्चन बीच भएको प्रतिस्पर्धामा बाणगंगाले २-० को सोझोसेटमा पराजित गरी तेश्रो हुन सफल भएको छ । बाणगंगाले १० हजार रुपैया र मेडल प्राप्त गरेको छ । महाशिवरात्रीको अवसरमा आयोजित रबि किरण स्मृतिकपको उपाधीका लागि बिभिन्न जिल्लाका २१ भलिबल टिमले सहभागिता जनाएका थिए ।

खेल अवधिभर उत्कृष्ट स्पाइकर इभालुएसनका रेशम थापा, उत्कृष्ट सेटरमा सोही टिमका हेमन बलाल, उत्कृष्ट सर्वरमा मणिमुकुण्डका कमल श्रेष्ठ, उत्कृष्ट डिफेण्डरमा बाणगंगाका दिपक राना पुरस्कृत भएका छन् । विधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही १ हजार रुपैयाँ प्राप्त गरेका छन् । इभालुएसनका सुमन गलामी प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी घोषित भई २ हजार ५ सय रुपैयाँ नगद राशी प्राप्त गरेका छन् ।