ताजा अपडेट »

ट्रम्पद्वारा मार्कललाई 'दुष्ट' भनेको अस्वीकार

सोमबार, २० जेठ २०७६


जेठ २०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डचिस अफ ससेक्स मेगन मार्कललाई आफूले 'दुष्ट' नभनेको दाबी गरेका छन्। तर उनले गरेको टिप्पणीको अडिओ रेकर्ड सार्वजनिक भइसकेको छ।

"मैले मेगनलाई कहिल्यै 'दुष्ट' भनेको छैन," आइतवार ट्वीट गर्दै ट्रम्पले भने, "यो मिथ्या समाचार फैलाउने सञ्चारमाध्यमको काम हो र उनीहरू आत्तिए।"

ट्रम्पले आफ्नो यूके भ्रमणपूर्व सन पत्रिकालाई दिएको अन्तर्वार्तामा मार्कलबारे टिप्पणी गरेका थिए। भूतपूर्व अमेरिकी अभिनेत्री मार्कल ट्रम्पको प्रखर आलोचक रहेकी थिइन्।

उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी हिलरी क्लिन्टनलाई समर्थन गरेकी थिइन् र ड्रम्पलाई 'विभाजनकारी' र 'स्त्रीद्वेषी' भनेकी थिइन्।

सन पत्रिकासँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले पहिलो पटक मार्कलले गरेको आलोचनाबारे सुनेको बताएका थिए।

त्यस अन्तर्वार्तामा उनले भनेका छन्, "मलाई त्यो थाहा थिएन। म के भन्न सक्छु र ? मलाई थाहा थिएन उनी दुष्ट थिइन् भन्ने।"

मार्कल राजपरिवारमा प्रवेश गरेकोमा प्रसन्नता व्यक्त गर्दै ट्रम्पले मार्कलले 'असल राजकुमारी'को भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

"यो राम्रो कुरा हो र मलाई लाग्छ उनले त्यस भूमिकालाई राम्ररी निर्वाह गर्नेछिन्," उनले भनेका छन्।