जेठ २०,
ग्लोबल आवाज
बुटवल । मानव अधिकार तथा शान्ति समाज , रुपन्देहीले २४ औ स्थापना दिवस मनाएको छ । समाजले बुटवलमा अन्तरक्रिया आयोजना गरी दिवस मनाएको हो । सो अवसरमा ‘सन्दर्भ स्थापनाको २४ वर्ष : मानव अधिकार आन्दोलनमा नयाँ धार’ विषयक गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले परिवर्तनमा शान्ति समाजको प्रशंसनिय भूमिका रहेको बताउँदै मानवअधिकार जीवनको अपरिहार्य र महत्वपूर्ण विषय भएको उल्लेख गरे । उनले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसाको नारा बोकेर अघि बढेको इतिहास भएपनि अझै पनि बलियो भएर अघि बढ्न आग्रह गरे ।
शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले राज्यले मानवअधिकारवादी संघ संस्थाहरुलाई प्रयोग गर्ने गरेको गुनासो गरे । उनले राजनीतिक दल र जनताकाबीचमा पुलको काम गर्ने मानअधिकारवादीहरुलाई चुपलागेर बसुन भन्ने सोँच राख्ने सरकार अधिनायकवादी भएको दाबी गरे । काग्रेस महासमिति सदस्य युवराज गिरीले राज्य मानवअधिकार र स्वतन्त्रताको उपहास गर्नेतर्फ उदत देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले जनताले स्वतन्त्रता, न्याय र समतामुलक राज्य व्यवस्थाका लागि लडेको भन्दै सरकार त्यो बाटोबाट च्युत भएको बताए ।नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का रुपन्देहीका सचिव नारायण जिसी निर्मलले द्वन्द्ध पछिका घट्नाहरु भन्दा मानवअधिकारको अवस्थामा केही सुधार भए पनि सन्तोष जनक अवस्था नरहेको बताए । कार्यक्रममा समाजका रुपन्देही सभापति डिपी खनालले मानव अधिकार आन्दोलनमा नया धारणा विषयक संस्थाको अवधारणा पत्र समेत प्रस्तुत गरेका थिए ।
उपसभापति कृष्णचौहान क्षेत्रीको स्वागत तथा सहसचिव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा शान्ति समाजका पूर्व सभापति हरिष ढकाल,केन्द्रिय अनुशासन समितिका सदस्य लालहरि पाण्डे, केन्द्रिय प्रेस समितिका संयोजक बिष्णु भुसाल,प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल,रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी,एकल महिला तथा शहिद परिवार रितासेन ओली,राष्ट्रिय अपाङ्ग महासंघका सदस्य साबित्रा घिमिरे,उच्च अदालत बार बुटवलका अध्यक्ष खडानन्द भण्डारी लगाएतले आ–आफ्ना विचार राख्दै मानव अधिकार तथा शान्ति समाजलाई थप शसक्त रुपमा अघि बढ्न सुझाव दिएका थिए ।
प्रतिक्रिया