जेठ १९,
बुटवल । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले आफूहरूलाई पनि निर्वाचन क्षेत्र विकासका लागि रकम छुट्याउनु पर्ने माग गरेका छन् । संघीय सांसदलाई ६ करोड रपैयाँ दिएजस्तै प्र्रदेश सांसदले पनि निर्वाचन क्षेत्रअनुसार प्रत्येक सांसदले रकम पाउनुपर्ने उनीहरुको माग छ ।
आइतबार प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सदस्य तुलाराम घर्तीमगरले केन्द्र सरकारले संघीय सांसदलाई ६ करोड रुपैयाँ दिएजस्तै प्रदेश सरकारमार्फत् आफूहरूले पनि पाउनु पर्ने बताएका हुन् । एउटै क्षेत्र र जिल्लाबाट निर्वाचित संघीय सांसद पैसा बोकेर जिल्लामा जाँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने उनको तर्क छ ।
उनले संघीयताको सिद्धान्तविपरीत संघीय सरकारले प्रत्येक सांसदलाई ६ करोड दिने निर्णयको असर प्रदेश सांसदहरूलाई पनि पर्ने भएकोले संघीय सांसदले पैसा पाइरहँदा प्रदेशका सांसदहरू रित्तो हुनुपर्ने अवस्थालाई राष्ट्रिय रूपमै अन्त्य गर्नुपर्ने बताए ।
‘प्रदेशका सांसदहरू पनि संघीय सांसदहरूले लिएको आधा भोट लिएर जितेका हुन्, उनीहरूले जिल्लामा पैसाको पोको बोकेर गएर मैले यहाँ दिएको छु, त्यहाँ दिएको छु भनेर गफ लगाउँदा प्रदेशका सांसद निरिह भएर बस्न सक्दैनन्, यस्तो अवस्था राष्ट्रिय रूपमा अन्त्य गरियोस्,’ उनले भने ।
प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक सुरेन्द्र बहादुरहमालले नेपालगञ्ज स्थित नेपाल–भारत सिमा पैडीया नाकाबाट ठुलो परिमाणमा अखाद्य तेल भित्रिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरे ।
बैठकको सुरुमै बिशेष समय लिएर बोल्दै अस्वस्थताका कारण लामो समयसम्म काठमाण्डौमा उपचार गराइरहेका प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी गराएका थिऐ ।
प्रदेशसभा बैठकले सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलकालागि भौतिक पुर्वाधार विकास समितिमा पठाउने निर्णय समेत गरेको छ । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो विधेयक दफावार छलफलका लागि प्रदेशसभाको भौतिक पुर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
अर्को बैठक आगामी जेठ ३० गते दिनको १ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको छ ।
प्रतिक्रिया