जेठ १९ ,
बुटवल । बंगुर व्यवसायी संघ नेपाल, प्रदेश नं ५ को दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गरेको छ । शनिबार बुटवलमा भएको अधिवेशनले पुनः तिलाबहादुर सुर्यबंशीलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा चित्र बहादुर पुन (दाङ), सचिवमा धन बहादुर बुढाथोकी (रुपन्देही), कोषाध्यक्षमा यमकला कामु (पाल्पा) र सहसचिवमा विष्णु सर्तुङ्गे (रुपन्देही) चयन भएका छन् ।
सदस्यहरुमा उर्मीला ओली, बसन्त खड्का, महेश चौधरी, जगत दगामी, जोगबहादुर पुन, वेगम रेस्मी, खुमबहादुर पल्लीमगर, मानबहादुर वराल, नवराज घर्ती, रामबहादुर गाहा मगर, हेम बहादुर वगाले, युवराज विस्ट, प्रेम सारु, कमानसिङ दर्लामी, कमला थापा र नेत्र कुमारी कामु रहेका छन् । २५ सदस्यीय प्रदेश समितिमा अन्य सदस्यहरुलाई पछि मनोनयन गरिने निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रदेश ५ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले हरेक कृषकको जीवनस्तरमा समृद्धि आउने गरि मन्त्रालयले योजनाहरु अघि बढाएको बताईन् । बंगुर व्यवसायलाई व्यवस्थित बजारिकरण र व्यवसायीक बनाउने कुरामा मन्त्रालयले काम गर्ने उनले आश्वासन समेत दिइन् । सोही अवसरमा मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका प्रमूख डा.प्रदिप शर्माले आगामी योजनामा बंगुर व्यवसाय प्रवद्र्धनका लागि योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनबाटै प्रदेश ५ सरकारलाई बंगुर व्यवसाय प्रवद्र्धनका लागि १९ बुँदे माग राखिएको छ । जस्मा गुणस्तरिय र वैज्ञानिक बधशाला निर्माण गर्नुपर्ने, सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, व्यवसायीलाई अनुदान रकमको व्यवस्था गर्नुपर्ने, व्यवसायीक तालिमको आयोजना गर्नुपर्ने, दाना उद्योगका लागि प्रदेश सरकारले सहजिकरण गर्नुपर्ने, खोरेत, स्वाइन फिवर भ्याक्सिनको सरल उपलब्धता गराउनु पर्ने लागयतका मागरहरु रहेका छन् ।
सो अवसरमा बंगुर व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष उमेश कुमार राई, केन्द्रिय महासचिव डिल्लीराज पौडेल, केन्द्रिय सदस्यहरु मेहरसिङ थापा, दिपेन्द्र जोसी, खेम बहादुर गुरुङ, बंगुर पेशाका सफल व्यवसायी छेम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा लगायतले बोल्नु भएको थियो । सो अवसरमा सफल बंगुर व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । अधिवेशनमा प्रदेश ५ का १२ वटै जिल्लाका बंगुर पालक किसानहरु सहभागी रहेका थिए ।
प्रतिक्रिया