जेठ १८,
काठमाण्डौ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा धुमपानकै कारण बर्सेनि २७ हजार नेपालीको मृत्यु भइरहेको छ । कानुन अनुसार सार्वजनिक स्थलमा धुमपान गर्न पाइँदैन । रेष्टुरेन्ट, होटल, विद्यालय, कलेज, सार्वजनिक यातायात, पाटीपौवा, सरकारी तथा निजी कार्यालय, अस्पताल लगायत क्षेत्रलाई सार्वजनिक स्थान मानिएको छ तर नेपालमा रेष्टुरेन्ट, होटल, शिक्षण संस्था, सरकारी तथा निजी कार्यालयमा मानिसहरू निर्धक्कसँंगले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल नेपालमा ७० लाखले प्रत्यक्षरूपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् भने एक तिहाइ जनसङ्ख्याले कुनै न कुनै रूपमा सुर्तीसेवन गरिरहेका छन् । विश्वमा प्रत्येक पाँच सेकेण्डमा एक जनाको मृत्यु धुमपानको कारण हुने गरेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले नेपालमा धुमपानकै कारण हजाराँै व्यक्तिको मृत्यु भइरहेको जानकारी दिँदै यसलाई समयमा नरोक्ने हो भने यसले भयावह रूप लिने बताउनुभयो । क्यान्सर रोग विकराल अवस्थामा रहेको भन्दै उहाँले यही अनुपातमा क्यान्सर रोगी बढे क्यान्सर अस्पतालमा उपचार गराउन समेत कठिन हुने बताउनुभयो । तथ्याङ्क अनुसार नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले सुर्ती सेवन गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वार्षिक १८ अर्ब खिल्ली चुरोट खपत हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन पारित गरेपनि उक्त ऐन खासै प्रभावकारी रूपमा लागू हुन नसक्दा धुमपानबाट मृत्यु हुनेको सङ्ख्या बढेको हो ।
धुमपान विरुद्धका अभियन्ता डा. तारासिंह बमले नेपालमा कानुन कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव पुस्कर नेपालले धुमपान रोक्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये सात लाख मानिसको अरूले धुमपान गरेको असरबाट मृत्यु हुने गर्दछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनलाई जनस्वास्थ्यको दृष्टिकोणबाट टाढा राख्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको बढ्दो सेवन हुनुमा आकर्षक, भ्रामक प्रचार प्रसार तथा अनियन्त्रित विक्री वितरण, देखासिखी भन्दै नेपालमा धुमपानबाट युवापुस्ता, विद्यार्थी र सामान्य नागरिक बढी प्रभावित हुने गरेको जानकारी दिनुभयो ।
सोही मन्त्रालयका सहसचिव बद्रीबहादुर खड्काका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगहरूको कारण स्वास्थ्य समस्य जटिल बन्दै गएको छ । न्यूनीकरणका लागि उत्पादक कम्पनीले चुरोटको बट्टामा ९० प्रतिशत भाग धुमपान विरुद्धको चित्र राख्नुपर्ने भए पनि हालसम्म उक्त काम हुन नसकेको उहाँले बताउनुभयो ।
यसैबीच विश्व धुमपानरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । शुक्रबार बिहान मन्त्रालयले धुमपानविरुद्ध वीर अस्पतालबाट स्वास्थ्य सेवा विभाग टेकुसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।
प्रत्येक वर्ष ३१ मे का दिन विश्व धुमपान रहित दिवस मनाउने गरिन्छ । विश्वमा नसर्ने रोगबाट हुने मृत्युको कारणहरूमध्ये सुर्तीजन्य पदार्थलाई प्रमुख कारण मानेर विश्व स्वास्थ्य सङ्गठनले यसलाई नियन्त्रण गर्न सन् २००३ मा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।
प्रतिक्रिया