विगत दुई महिनादेखिको राजनीतिक उकुस–मुकस अझै मत्थर भैसकेको छैन । राजनीतिक आकाशमा मडारिएको कालो बादल फाट्ने संकेत अझै केही समय देखिदैन। राजनीतिक बादलको धुम्मले आँधी अघिको सन्नाटाको झलक दिइरहेको छ । राजनीतिक क्षेत्रमा देखिएको अन्यौल, अस्थिरता र विवादका कारण मुलुकको सवै अवयव प्रभावित वनेको छ । त्यसै त कोभिड १९ का कारण थला परेको मुलुक राजनीतिक अस्थीरताले झनै सकसमा छ । १० महिना लगातार ओरालो लागेको पर्यटन क्षेत्रमा कोभिडको जोखिम घट्दै गएपछि केही आशाको दियो बलिरहेको थियो । अकस्मात राजनीतिक अस्थीरताले पर्यटन क्षेत्रको जोखिम झनै बढेको छ ।
सरकार नै अस्थिर भएपछि त्यसका सवै अङ्गहरु प्रभावित हुने नै भए । तर, रात रहे अग्राख पलाए भनेझै नेपालको पर्यटन क्षेत्रले केही आशाको दियो भने बालिरहेको छ । त्यो दियो निभ्ने क्रममा थियो । तर, त्यसमा भरथेग गरिरहेको छ– विदेशी पर्यटकको पछिल्लो सुधारात्मक बढ्दो नेपाल आगमनले । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले कोभिड–१९ महामारीकै बीच विस्तारै विदेशी पर्यटक संख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । बोर्डले जनाए अनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका छन । पछिल्लो महिना पर्यटक आवागमन सुधारात्मक रहेको छ । यो नेपालका लागि खुसीको कुरा हो । पर्यटक आगमनले नेपालमा चहलपहल मात्र बढ्ने होइन विदेशी मुद्रा सञ्चितीमा समेत महत्वपूर्ण सहयोग पुग्छ जसका कारण शोधनान्तर घाटा कम गर्न र मुलुकको आर्थिक स्थिति मजबुत बनाउन सहयोग पुग्छ ।
उखान छ,नेपाल र भारतबीच रोटी बेटीको सम्वन्ध छ । वास्तवमा नेपाल र भारतका वीच यो सम्वन्धलाई अझै प्रगाढ वनाउनु जरुरी छ । यो भनिरहनुको तात्पर्य चाहिँ भारतबाट गत महिना सबैभन्दा बढी चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन. २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो । कोरोनाको जोखिम कायमै रहेको यो अवस्थामा पनि भारत हाम्रा लागि छिमेकीमात्र होइन भरपर्दो आशा र भरोसको साथी पनि हो ।
किनभने पछिल्लो वर्षदेखि नेपाल भ्रमण गर्नेमा भारतीयहरुको संख्या नै सवैभन्दा धेरै रहेको तथ्यांक प्रस्तुत भैसकेको छ । त्यसकारण नेपालको पर्यटन क्षेत्र सुधारका लागि भारतीय पर्यटक सहायक हुन भन्दा अत्युक्ति नहोला । नेपाल भारत सम्वन्ध रोटी बेटीमा मात्र सीमित होइन सांस्कृतिक, आर्थिक र भावनात्मक रुपले पनि उत्तिकै प्रगाढ छ । कोरोनाको खोप केही लाख निशुल्क उपलव्ध गराएर भारतले असल छिमेकीको परिचय दिएको छ । अर्को महत्वपूर्ण कुरा के छ भने स्थलमार्ग हुँदै आउने विदेशी पर्यटकहरु भारतकै बाटो भएर नेपाल प्रवेश गर्छन । त्यो नेपाल भारत सिमावर्ती क्षेत्रमा प्रत्येक दिनजसो देख्न सकिन्छ ।
अर्कोतर्फ विदेशी पर्यटक नेपाल आउँदा होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यताका कारण पनि जोखिमको यस अवधीमा विदेशी पर्यटक आगमनमा भारी कटौती भएको पर्यटन व्यवसायीको गुनासो छ । अब अनअराइभल भिसाको व्यवस्था गरी क्वारेन्टिनको बाध्यता हटाएको खण्डमा विदेशी पर्यटक बढ्ने विश्वास गर्न सकिन्छ । नेपाल भ्रमणको मूख्य सिजन नै अंग्रेजीको मार्च, अप्रिल र मे नै हो । यो अवधिमा पर्वतारोहण तथा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी पर्यटकहरु नेपाल आउने गरेको छन । क्वारेन्टिन र अनअराइभल भिसा नभएका कारण आउन चाहने विदेशी पर्यटक पनि आउन नसकेको पर्यटन बोर्डको भनाई छ ।
पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्डलगायतको ध्यानाकर्षण गराउँदै आएका छन् । व्यवसायीले होटल क्वारेन्टिन हटाएर अनअराइभल भिसाको व्यवस्था गर्न माग गरेका छन् । यदि यो व्यवस्था भैदिएको खण्डमा नेपालको पर्यटन क्षेत्रले फेरीपनि आशाको दियो बाल्ने विश्वास छ । त्यो विश्वासमा आँच आउने काम कहिँकतैबाट हुन दिनुहुँदैन । त्यसमा नेपाल सरकारको पनि गंभीर ध्यानाकर्षण हुनैपर्दछ । थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन पर्यटन प्रवद्र्धनको विशेष अभियान थाल्नुपर्नेमा कसैको बिमति छैन । यद्यपि यसअघि पनि नेपालमा पर्यटन प्रवद्र्धन र सुधारका काम नभएका भने होइनन् तर तिनले यथेष्ट प्रभाव भने दिने सकेनन् ।
जस्तै नेपाल भ्रमण वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११ र नेपाल भ्रमण वर्ष २०२० जस्ता कार्यक्रमले पर्यटकको आगमन र संख्या बढाउन जोड दिए । २० लाख पर्यटक भित्राउने लक्ष्यसाथ घोषणा भएको नेपाल भ्रमण वर्ष–२०२० केही दिनमै सुरुवात गर्ने तयारी गर्दैगर्दा कोभिड १९ले प्रभावित गर्याे । २० लाख पर्यटक नेपाल आउँथे वा त्यो भन्दा कम त्यो केवल अनुमान गर्ने कुरा मात्र हो। तर,हामी नेपालको पर्यटन क्षेत्रको श्रीवृद्धिको सवालमा केवल संख्यात्मक वृद्धिको एकोहोरो रटान मात्रै लगाई रहन्छौं । यसबाट मात्र पर्यटन क्षेत्रको यथोचित विकास सम्भव छैन । पर्यटन क्षेत्रको गुणात्मक सुधारको पक्षलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने अवस्था छ । पर्यटन सेवामूलक व्यवसाय भएकाले पर्यटकबाट पैसामात्र अपेक्षा भन्दा पनि राम्रो आतिथ्यता दिन सके त्यो निरन्तरको श्रोत वन्नसक्छ । पर्यटनको सकारात्मक पाटो पनि यही हो । पर्यटकहरूले आफूले खर्च गरेको पैसाको ‘भ्यालू अफ मनी’ (पैसाको महत्व) खोजी गर्ने भएकाले यसको आत्मालाई सबैले मनन गर्नु जरुरी छ ।
नेपालको पर्यटन क्षेत्रको सुधार नहुनुका पछि केही दिर्घकालीन तगाराहरु पनि छन । नेपालमा झैपनि भौतिक तथा पर्यटन पूर्वाधारको अवस्था नाजुक छ । हाम्रा सहर दिनदिनै प्रदुषित भइरहेका छन । पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति दिनदिनै पलायन हुँदै गइरहेको छ । हाम्रा पर्यटकसँग प्रत्यक्ष संलग्न रही सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने निकायको क्षमता अभिवृद्धि र मानसिकतामा परिर्वतन आउन सकेको छैन । यी सबै क्षेत्रको एकीकृत असर पर्यटन सेवाको मूल्य र गुणस्तरमा पर्ने भएकाले पर्यटन क्षेत्रबाट उचित लाभ लिने सवालमा हामी चुकिरहेका छौँ ।
पर्यटकको संख्यात्मक वृद्धि सँगसँगै पर्यटनको गुणस्तर सुधार अर्को महत्वपूर्ण सवाल हो । अस्वस्थ प्रतिस्र्धालाई त्यागेर स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्ने, सार्वजनिक सेवाको प्रवाह, पर्यटन पूर्वाधारको समुचित विकास र विस्तार अहिले नेपालको पर्यटन क्षेत्रको ज्वलन्त आवश्यकता हुन् । यस विषयमा सरकार, सम्बद्ध निकाय र पक्षको ध्यान पनि जानु जरुरी छ । निश्चित रुपमा नेपालको पर्यटन क्षेत्रमा रहेको अर्बौंको लगानी अहिले जोखिममा छ । कोभिड पछिको बढ्दो राजनीतिक अस्थिरताले थप चुनौती थपिएको छ । तर, अव पर्यटन क्षेत्रको अवस्था आँधी अघिको सन्नाटा नहोस् ।
प्रतिक्रिया