ताजा अपडेट »

विश्व धुम्रपानरहित दिवस: धुम्रपान नगर्न आह्वान

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

काठमाण्डौ । धुम्रपान नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । यसै अवसर पारेर शुक्रबार बिहान काठमाडौंमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरियो। काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजराजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि हरेकलाई पहल गर्न आह्वान गरे । उनले क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि घरघरबाटै पहल गनुपर्ने पनि स्पष्ट पारे। चिकित्सकहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादन नै बन्द गराउन पहल गर्न पनि सबै समूदायलाई आह्वान गर्दै आएका छन् । प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उनीहरुले ‘धुम्रपानको खेती, जीवनको क्षति’, ‘धुम्रपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए । नेपालमा हरेक वर्ष धुम्रपानकै कारण २५ हजार भन्दा बढीको ज्यान जाने गरेको छ। यसको नियन्त्रणका लागि सरकारले कानुन निर्माण गरेपनि कार्यान्वयन भने प्रभावकारी ढंगले हुन नसकेको सम्बन्धित निकायहरु आफैंको स्विकारोक्ति छ।