ताजा अपडेट »

राष्ट्रिय सहमतिमा अर्बौं भ्रष्टाचार हुन्छ: नेता भुसाल

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले करोडसम्मको भ्रष्टाचारमा कर्मचारीको हात भएपनि अर्बसम्म पुग्ने भ्रष्टाचारमा राष्ट्रिय सहमति हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भुसालले जब भ्रष्टाचार अर्बमा पुग्छ त्यसमा अधिकांश राष्ट्रिय सहमति हुने बताए ।

‘केही करोडको भ्रष्टाचार कर्मचारी आफैंले गर्छन होला । तर, जब अर्बमा पुग्छ त्यो भ्रष्टाचारमा दुःखपूर्वक भन्नुपर्छ अधिकांश केसमा राष्ट्रिय सहमति जस्तो देखिन्छ । माथिका मान्छे मिल्छन् ।’ नेता भुसालले भने, ‘उनीहरूलाई नियम, कानुन, जनताको स्थिति, हाम्रो गतिविधि, हाम्रो हाल वा यहाँ हाम्रो राष्ट्रियता मिचिएको थिचिएको त्यहाँनेर उनीहरूलाई मतलब हुँदैन । ठूला ठूला काण्डहरू एनसेल, करछुट जस्ता काण्ड, वाइडबडी कै कुरा केहो? हराएर गयो ।’

यस्ता मुद्दाहरूले लोकतन्त्रलाई कमजोर बनाउने र कमजोर लोकतन्त्रमा प्रेस स्वतन्त्रता कमजोर हुने नेता भुसालको तर्क छ।यस्तै, उनले अहिले विवादित विधेयक कुनै असावधानी वा के कारणले आयो त्यसमा छलफल हुने बताए । नेता भुसालले प्रेसको स्वतन्त्रतालाई खोस्ने कुनै पनि कुरा नहुने स्पष्ट पार्दै ढुक्क हुन समेत आग्रह गरेका छन् ।