ताजा अपडेट »

सैनामैनाका सबै वडामा कृषि पाठशाला, उत्पादनमा वृद्धि

बुधबार, १९ फागुन २०७७

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकाले कृषक पाठशाला सञ्चालन गरेपछि तरकारी उत्पादनमा वृद्धि भएको छ । कृषकहरुले व्यवसायीक रुपमा खेती गर्न थालेपछि उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी गराए ।

अर्गानिक तरकारी उत्पादनमा करिब २५ प्रतिशत जनचेता बृद्धि भएको नगरपालिकाले आँकलन गरेको छ । यो वर्ष ११ लाख बजेट छुट्टाएर ११ वटै वडामा कृषि पाठशाला सञ्चालन गरिएको हो । गत आर्थिक वर्ष नगरका २ वडामा पाठशाला सञ्चालन गरेको सैनामैनाले यस वर्ष सबै वडाहरुमा कृषि पाठशाला सञ्चालनमा ल्याएको छ । पाठशालाबाट २ सय ७५ कृषक प्रत्यक्ष सहभागी भई तरकारी उत्पादनमा लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४ महिनासम्म सञ्चालन गरेको गुणरस्तरिय बालि उत्पादन आईपिएम प्रविधिको तालिममा सहभागी कृषकहरुले आलु, बन्दा गोपि, फुल गोपि, टमाटर लगायतका खेतीतर्फ आकृषित भएका छन् ।

कृषकलाई परम्परागत र आईपिएम प्रविधिबाट खेती गर्न पाठशालामा सिकाउने गरिएको नगर प्रमुख चित्रबहादुर केसीले जानकारी दिए । सैनामैनालाई कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको उनले बताए ।

कृषकहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सीप प्रदान गरिएको सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले बताइन् । कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्याउने र बेफाइदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादनमुलक कसरी बढाउने, खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषय सिकाइएको सुवेदीले जानकारी दिइन् ।