ताजा अपडेट »

आगामी ३ दिन सम्म मेघ गर्जन सहित पानी पर्ने

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणालीको प्रभाव आगमी शनिबारसम्म रहने बताइएको छ । राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ । भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ ।