जेठ १७,
काठमाडौं । सरकारले कर्मचारीको तलब २० र १८ प्रतिशतले बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत तलब बढाएको हो ।सरकारले विभिन्न श्रेणीका राजपत्रांकित र राजपत्रअनंकित कर्मचारीको तलबमा क्रमशः १८ र २० प्रतिशतका दरले तलब बढाएको हो । तलबमा वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत बढेको छ । अब साउन १ गतेदेखि नयाँ तलब पाईनेछ ।
राजपत्रांकितको तलब १८ प्रतिशतका दरले वृद्धि भएसँगै राष्ट्रपतिको तलबमा २७ हजार रुपैयाँ र सांसदको तलबमा ९ हजार रुपैयाँ वृद्धि भएको छ ।हाल राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ छ । १८ प्रतिशत वृद्धि हुँदा २७ हजार ८१ रुपैयाँ तलब बढ्छ । राष्ट्रपति भण्डारीले साउन महिनादेखि मासिक १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ तलब पाउनेछिन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ मासिक थपिने भएको छ । हाल १ लाख ८ हजार ३० रुपैयाँ तलब पाउँदै आएका पुन आगामी साउनदेखि १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पाउने छन् ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि ९१ हजार १ सय ९० रुपैयाँ पाउने छन् । उनको मासिक तलब तलब १३ हजार ९ सय १० रुपैयाँ बढेको हो । ओलीको हालको तलब ७७ हजार २ सय ८० रुपैयाँ रहेको छ ।
सभामुखको तलब पनि वृद्धि भएको छ । सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । उनको तलबमा १२ हजार १ सय १८ रुपैयाँ वृद्धि भएको हो । हाल उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।उपप्रधानन्त्रीको तलबमा ११ हजार सय ३६ रुपैयाँले वृद्धि हुँदै ७६ हजार ९ सय ३६ रुपैयाँ पुगेको छ । हाल उपप्रधानमन्त्रीको तलब ६५ हजार २ सय रुपैयाँ छ ।
बजेट वक्तव्यमार्फत सरकारले मन्त्री र सांसदको तलब समेत वृद्धि गरेको छ । यसअघि ६० हजार ९ सय ७० रुपैयाँ मासिक तलब लिँदै आएका मन्त्रीहरुले अब ७१ हजार ९ सय ४५ रुपैयाँ पाउनेछन् । हाल ५५ हजार २ सय ३० रुपैयाँ मासिक तलब लिँदै आएका सांसदले साउनदेखि ६५ हजार १ सय ७१ रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया