काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।
प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन्। नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रूपमा शारीरिक हमला हुनसक्ने बताएका हुन्।
‘सम्पूर्ण रूपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रूपमा भएको छ। शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने। त्यसक्रममा उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार हुन नदिन कार्यकर्तालाई अपिल गरे। ‘म रहिनँ भने पनि केही छैन, पार्टी छ, आन्दोलन छ। देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने।
मुलुकको कार्यकारी प्रमुखका लागि राज्यले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको हुन्छ। तर पनि ओलीले आफूलाई सुरक्षा भ्रेट भएको बताइरहन्छन्। नेकपा एक हुँदा एकपटक धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा उनी सुरक्षा थे्रट भएको भन्दै सहभागी भएनन्। गत मंसिर १६ गते भएको स्थायी कमिटी बैठकमा उनी सहभागी नभएका हुन्। सुरक्षा निकायहरूले धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले जान अस्वीकार गरेका थिए। त्यसअघि गत असार १४ गते मदन भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशीविदेशी शक्तिहरूले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको र सुरक्षा थ्रेट भएको बताएका थिए। यसपछि पनि उनको सुरक्षामा कति सुरक्षाकर्मी खटिएका छन् र प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएकै हो त भनेर प्रश्न उठेको थियो। कसले थ्रेट गरेको भनेर ओलीले केही बताएका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया