जेठ १६,
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली जाँदै छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जादैं छन् । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो । मोदीले बिहीबार साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै छन् । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटक उनले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका हुन् । शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया