जेठ १५,
विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको बुधबार ६६ वर्ष पूरा भएको छ । सन् १९५३ को मे २९ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुगेका थिए । सन् १९५३ देखि यस पटक समेत गरी ६७ वटा वसन्त ऋतुमा सगरमाथा आरोहण भएका छन् । केही वर्ष शरद ऋतुमा समेत आरोहण भएको छ ।
सन् २०१८ सम्म ५ हजार ९२१ जनाले सरकारसँग अनुमति लिएर सगरमाथा आरोहण गरेका छन् । यस वर्ष अनुमति लिएका ३८१ जना गएकोमा आरोहणको यकिन तथ्याङ्क आइसकेको छैन । यस वर्ष आरोही र आरोहण सहयोगी गरेर ६ सय भन्दा बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अनुमति लिएका संख्याकै हाराहारीमा सहयोगी पनि शिखरमा पुग्ने भएकोले अहिलेसम्म १२ हजार भन्दा बढी आरोही शिखरमा पुगेको पर्यटन विभागले बताएको छ । १७१ वर्ष अगाडि अर्थात सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको प्रमाणित गरेको थियो । अग्लो शिखर भनि चिनिएको एक सय ४ वर्षपछि सगरमाथाको शिखरमा मानिसको पाइला पुग्यो । मानिसको पाइला शिखरमा पुगेसँगै सगरमाथाको ख्याती पनि शिखरतर्फ उक्लियो । विश्वभर चर्चा सुरु भयो । साहसिक काम गर्न रुचाउनेहरु सगरमाथा चढ्नेबारे सोच्न थाले । वर्षमा बढीमा ८/१० दिन मात्र सगरमाथा आरोहणका लागि अनुकूल मौसम हुन्छ । अहिले यही समयमा सयौं आरोहीहरु शिखरतर्फ उक्लन्छन् । आरोहण शुरुवातीको वर्षहरुमा भन्दा अहिले निकै सजिलो पनि भएको छ ।
पहिलो सफल आरोही समूहमा सहभागी नाम्चेका कान्छा शेर्पा भन्नुहुन्छ ‘पहिले काठमाण्डौ हिँड्नुपर्थ्यो, झण्डै २ महिनाका लागि खानेकुरादेखि बन्दोबस्तीका सामाग्री सबै लैजानु पर्थ्यो, कपडा तथा उपकरणहरु सजिला र उपयोगी थिएनन्, सिपालु र बाटो देखेका पथप्रदर्शकहरु थिएनन्, तर अहिले निकै सजिलो छ । ’अहिले बिमानबाट लुक्ला वा कतिपय हेलिकोप्टरबाट त्योभन्दा माथि पनि पुग्छन् । अनुभवी पथप्रदर्शकहरु तयार छन्, निकै हलुका र त्यहाँको मौसम अनुकूल कपडाहरु पाईन्छ्, अक्सिजनको सिलिण्डरदेखि अरु उपकरणहरु पनि सुधारिएका छन् । पैसा तिरेपछि पथप्रदर्शकहरुले बन्दोबस्तीको कामसँगै अघि पछि लागेर सहयोग गर्दै आरोहीलाई शिखरमा पुर्याएर आधार शिविरसम्म ल्याईदिन्छन् । यसैले अहिले आँखा नदेख्नेदेखि खुट्टा नभएकाहरु पनि सगरमाथा चढ्ने आँट गर्न थालेका छन् ।
कसरी पुगिन्छ सगरमाथा ?
लुक्लासम्म काठमाण्डौबाट हवाइ जहाजमार्फत पुग्न सकिन्छ वा सल्लेरी हुँदै आधा बाटो गाडी र पैदल हिँडेर पनि लुक्ला पुग्न सकिन्छ । लुक्लाबाट सुरु हुन्छ मनै लोभ्याउने प्राकृतिक छटा सहितको यात्रा ।लुक्लाबाट फाक्दिङ हुँदै झण्डै ९/१० घण्टामा नाम्चे पुगिन्छ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथाको प्रवेशद्वार हो । नाम्चे बजारबाट तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ । नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
तेङ्बोचेबाट दिङ्बोचेका लागि यात्रा शुरु हुन्छ । १२ किलोमिटरको दूरीमा रहेको दिङ्बोचे पुग्न तेङ्बोचेबाट ५ घण्टा हिँड्नुपर्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो, जहाँ मौलिकता अझै बाँकी छ । दिङ्बोचेमा खाजा खाएर लोबुचेको यात्रा सुरु हुन्छ । ५ घण्टामा १२ किलोमिटरको दूरी पार गर्दै ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे गाउँ पुगिन्छ । लोबुचेबाट सगरमाथा आधार शिविरका लागि यात्रा सुरु हुन्छ । १५ किलोमिटरको दूरी झण्डै ८ घण्टामा छिचोलेर सगरमाथा शिखरको प्रस्थान बिन्दु आधारशिविर पुग्न सकिन्छ । आधारशिविर यति मनोमहक छ कि जसको वर्णन शब्दमा गर्न कठिन हुन्छ । आरोहीहरु शरीलाई मौसम अनुकूल बनाउनका लागि आधार शिविरमा एक हप्तादेखि महिना दिनसम्म पनि बिताउने गर्छन् । मौसम अनुकूल, आधार शिविरभन्दा माथि बाटो निर्माण कार्य, शिविर व्यवस्थापन आदिलाई ध्यान दिएर सगरमाथाको वास्तविक यात्रा पनि आधार शिविरबाटै सुरु हुन्छ ।
प्रतिक्रिया