ताजा अपडेट »

वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी

शनिबार, १५ फागुन २०७७
2 Shares

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।

व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।

विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन्। ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ।

कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज)मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरको ठगी भएको उजुरी परेको थियो। कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ। निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।