जेठ १४,
झापा । अल्छी मान्छेले जहिले पनि वहाना मात्रै पार्छ । उसले संभावना नै देख्दैन् । गर्न खोजी हालेपनि समस्यैसमस्या मात्रै देख्छ । तर, गर्ने मान्छेले काम नै काम देख्न । उसले समस्या कतै देख्दैन् । यती, देखिहाल्यो भने उसले आफैभित्र मात्रै देख्छ ।
झापा अर्जुनधारा–६ का बासुदेव ढुंगेल र उनका छोरा सुबोध यस्ता व्यक्ति हुन् । जसले समस्या कहिल्यै देखेनन् । संभावनाहरु मात्रै देखे । लामो समय शिक्षण पेशा गरेका बासुदेबले रिटायर्ड जीवनमा गाई फार्म खोले । उनको फार्मलाई छोरा सुवोधले निक्कै मलजल गरेर अहिले हराबरा बनाएका छन् । अर्को रोचक पक्ष के पनि छ भने बासुदेबकी ७० वर्षे श्रीमति लक्षिमा ढुंगेल, बुहारी र छोरीको दैनिकी पनि यही गाई फार्ममा वित्ने गरेको छ ।
‘छोरी बढ्दै गरेका कारण पूर्ण रुपमा सघाउन पाइदिन, विदाको दिन वा हामी नभएको दिन भने उनले पनि काम गर्नै पर्ने हुन्छ’, बासुदेबले भने, ‘पारिवारिक पेशा हामीलाई फापेको छ । हामी बाहेक पनि दुई तीन जना कर्मचारीहरु राखेका छौ ।’ कन्काई कृषि फार्म नाम राखेर सञ्चालन गरेको यो गाई फार्म ७ वर्ष पहिले खोलेका थिए ढुंगेल परिवारले । २० लाख लगानीमा ३ वटा ठूला ठूला खोरहरु निर्माण गर्नेदेखि लिएर केही थान गाईको माउबाट गाई पालन सुरु गरेको यो फार्मको बजार मूल्य एक करोडमाथि नाघेको बासुदेब ढुंगेल वताउँछन् ।
पत्याउनै मुस्किल पर्छ । उनका फार्ममा एकै पटक अहिले १५, १६ वटा गाई ब्याउने अवस्थमा छन् । हेर्दै वलियो र खाईलाग्दो देखिने यी गाईले बच्चा पाईसकेपछि कम्तीमा पनि दैनिक साढे तीन सय दूध उत्पादन हुन्छ । हुन त पहिले पनि तीन सय लिटर दूध दैनिक विक्री गरेको अनुभव उनीहरुसंगै पहिल्यैदेखि छ । ढुंगेलका अनुसार अहिले धेरै गाईलाई पोषिलो खाने कुरा खुआउनमै वित्छ ।
एउटा गाईले दैनिक २० केजीसम्म घास खाने गर्छ । यसकालागि ढुंगेल परिवारले ४ विगाहा जग्गा भाडामा लिएर घास खेती पनि गरेका छन् ।
उनीहरुले निर्माण गरेको गोठ आधुनिक छ । मेशिनले नै गाईको दूध दुने गर्छ । घास काट्नेदेखि लिएर अन्य धेरै प्रकारका मेशिनरी कुराहरु प्रयोग गर्दै आएका ढुंलेल परिवारलाई गोठ सुधार कार्यक्रम, जिल्ला पशु सेवा कार्यालय, नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । पूर्ण रुपमा सहयोग नपाएपछि थोरैथोरै भने पाईरहेको बासुदेबले जानकारी दिए ।
सवै गरेर अहिले झण्डै ५० वटा गाईहरु छन् । जसमा ३० वटा माउँ छन् । जसले दूध दिईरहेका छन् । त्यसमध्येका १५, १६ वटा भने अव केही सातामै ब्याउनेवाला भएको ढुंगेल वताउँछन् । ति सवै गाई ब्याएपछि झण्डै मासिक पाँच लाखको दूध विक्री हुने उनी वताउँछन् । हुन त अहिले पनि दुई अढाई लाखको दूध विक्री भईरहेको उनी वताउँछन् ।- मनोज श्रेष्ठ/हलो खबर डटकमबाट
प्रतिक्रिया