भैरहवा । बिद्यावारिधि गरेका पहिलो लाहुरे डा. हर्षबहादुर बुडामगरको दशौं स्मृति दिवसको अवसरमा साहित्य तीर्थ, कपिलधाम परिसर वाणगंगा नगरपालिका–९ कपिलवस्तुमा स्थापित डा. हर्षबहादुरको अर्धकद शालिक अनावरण गरिएको छ । यसको साथै उनको व्यक्तित्व–कृतित्व चर्चा–परिचर्चा कार्यक्रम सम्पन्न समेत भएको छ । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
अर्धकद शालिकको राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले अनावरण गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री बोहराले डा. हर्षबहादुर बुडामगरले गरेका प्रयासहरु सराहनीय रहेको बताए । उनले लाहुरे भएर डा. हर्षबहादुरले विद्यावारिधी गर्नु उदाहरणीय भएको बताए । उनले जागिरे जीवनपश्चात मान्छेले आरामको जीवन बिताउन खोजे पनि डा. हर्षबहादुर भने निरन्तर काममा लागेको बताए ।
कार्यक्रममा पूर्व गृहमन्त्री निरञ्जन थापा, प्राज्ञ बुद राना, साहित्कार विजय गोविन्द श्रेगठ, समालोचक शिक्षाविद् बालकृष्ण भट्टराई लगायतले डा. हर्षबहादुर बुडामगरको योगदानको बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नति बोहरा शिलाको अध्यक्षता, सदस्य–सचिव दिनेश लम्सालको स्वागत तथा ऋषि आजादको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वि.सं. १९८४ कार्तिक ३ गते बाग्लुङको गलकोट, कौलेनीमा पिता. भक्तबहादुर बुडामगर र माता देवकला बुडामगरको कोखबाट जन्मेका हर्षबहादुरले विभिन्न विभूषण÷पदक तथा पुरस्कार पाएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट १९६७ ई.मा राजनीतिशास्त्रमा स्नातकोत्तर र पटना विश्वविद्यालयबाट १९९० ई. मा राजनीतिशास्त्रमा विद्यावारिधी (पी.एच.डी) गरेका थिए। उनले महेन्द्र विद्याभूषण ‘क’ श्रेणी, प्रबलगोर्खा दक्षिणबाहु, श्री ५ वीरेन्द्रबाट ‘नगद पुरस्कार, २०२९ र कदर–पत्र २०३१, श्री ५ वीरेन्द्र राज्याभिषेक पदक, श्री ५ वीरेन्द्र रजत महोत्सव पदक, श्री ५ वीरेन्द्र ऐश्वर्य सेवापदक, २०५८, नेपाल स्काउट स्वर्ण जयन्ती पदक, २०५९ र अन्तर्राष्ट्रिय युद्धतारा पदक आठ वटा विभिन्न पदकहरु पाइसकेका छन् । डा. हर्षबहादुर बुडामगर द्धितीय विश्व–युद्धमा सहभागिता (१९४३ ईं) बर्मा फ्रन्ट, दक्षिण पूर्वी एसियामा शान्ति कायम गर्ने कार्यमा संलग्न (१९४८–४९ ई.), जम्मु कास्मिर युद्ध क्षेत्रमा संलग्नता (१९४८–४९ ई.) र मलायनइमर्जेन्सी (१९५४–५६) मा युद्ध सेवा गरेका थिए ।
त्यस्तै मास्टर मित्रसेन थापा स्मृति पुरस्कार, २०५४ र अनुसन्धान पुरस्कार २०५५ नेपाल मगर संघ काठमाडौं, गोपाल पाण्डे असीम पुरस्कार, २०५९, भद्रकुमारी घले व्यक्तित्व पुरस्कार रु. १ लाख पाएका छन् । डा. हर्षबहादुर बुडामागर डा. के.आई. सिंहको संक्षिप्त जीवनी (खण्डकाव्य २०१४), किरातवशं र मगरहरु एक ऐतिहासिक सर्वेक्षण (२०४९), मगर व्याकरणको पारुप (२०५०), मगर–रोमन–नेपाली–लिम्बू–अंग्रेजी संक्षिप्तशब्दकोष(२०५०), जसका ठाडा जुँगाकहिल्यै झुक्न जान्दैनन् (रचना संग्रह) २०५०, अतृत्प जिन्दगीका असीमित चाहना (उपन्यास), २०५३ , मगर र मग्यार : पुख्र्यौलीको खोजीमा (२०५३) लगायत दर्जनौ कृति प्रकाशित छन् ।
डा. हर्षबहादुर बुडामगर द्वितीय विश्वयुद्धको दौरान वर्मा फ्रन्टमा सैनिक रुपमा भाग लिएर स्वदेश फर्कि २०१४ सालदेखि अध्यापन सेवामा संलग्न रही ६ वर्षसम्म (१९६७–७२ ई.) सिद्धार्थ कलेज भैरहवा क्याम्पसको संस्थापक प्रिन्सिपल भई शैक्षिक सेवा, समाजसेवीको रुपमा बालहितका क्षेत्रमा १२ वर्षसम्म नेपाल बाल संगठनको केन्द्रीय सदस्य, नेपाल स्काउटको राष्ट्रिय सचिव (१९७८–७९ ईं), नेपाल भूतपूर्व संगठन केन्द्रीय सचिव (१९८३–१९८८), लुम्बिनी अञ्चल खेलकुद परिषद्मा सदस्य सचिव लगायत संस्थामा आबद्ध रहेर काम गरेका छन् ।
उनी पक्लिहवा माध्यमिक विद्यालय र भैरहवा बहुमुखी क्याम्पसका संस्थापक समेत हुन् । उनको वि.सं. २०६७ माघ १४ गते, काठमाण्डौंमा निधन भएको थियो । उनले गरेका कामलाई जर्गेना तथा जनता माझ लैजान उनको नामको प्रतिष्ठान डा.हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठान २०७१ उनकै जेठी छोरी प्राज्ञ गितकार तथा साहित्यकार उन्नति बोहरा शिलाको अध्यक्षतामा स्थापना भएको छ । हाल अर्धकदको शालिक अनावरण यसै प्रतिष्ठानले गरेको छ । कपिल आरोग्यमन्दिर कपिलधाम कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ ।
हालसम्म १८ अटा अर्धकद शालिक अनावरण गरिसकिएको र १०८ वटा अनावरण गर्ने लक्ष्य रहेको कपिल आरोग्य मन्दिर कपिलधाम, समितिका अध्यक्ष शंकर प्रसाद आचार्यले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यता प्राप्त स्रष्टाहरुको मात्र अर्धकदको शालिक सो परिसरमा राख्न पाइनेछ ।
प्रतिक्रिया