ताजा अपडेट »

वर्षाले गले इँटा,दस करोडभन्दा बढी घाटा

सोमबार, १३ जेठ २०७६


जेठ १३,


नवलपरासी । पूर्वी नवलपरासीमा केही दिनयता परेको पानी र हावाहुरीले ठूलो क्षति पु¥याएको छ । विशेष गरी यहाँका इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । हावाहुरी र पानी दिनहुँ पर्न थालेपछि आगोमा पोल्न ठिक्क पारिएका करिब दस करोड बराबरको इँटा पूर्ण रूपमा नष्ट भएको नवलपुर उद्योग सङ्घका अध्यक्ष इँटा व्यवसायी कृष्ण गौतमले बताउनुभयो । इँटाको मुख्य र अन्तिम सिजनमा नै दिनहुँ हावाहुरी र वर्षा हुन थालेपछि पकाउन राखेको इँटा पूर्ण रूपमा नष्ट भएको उहाँले बताउनुभयो ।

यो समय इँटा व्यवसायीहरूले राम्रो आम्दानी गर्ने प्रतिकूल समयका रूपमा लिँदै आएका थिए । नवलपरासी पूर्वका इँटा उद्योगहरूले दस करोडभन्दा बढी घाटा व्यहोर्नु परेको बताउनुभयो ।
उहाँका अनुसार पुर्वी नवलपरासीमा दैनिक सात लाख इँटा उत्पादन हुने गरेकोमा वर्षायाममा जस्तो ठूलो पानी पर्दा उत्पादन भएका इँटा अहिले सबै माटोमा परिणत भएका छन् ।  पूर्वी नवलपरासीमा दसवटा इँटा उद्योग छन् । 


यसपालि चैतदेखि नै पानी पर्न थालेपछि अहिले सिजनको अन्तिम समयमा आएर पानीले पूरै इँटाहरू सखाप पारेपछि उद्योगमा काम गर्ने कामदारलाई बिदाइ गरिएको व्यवसायीले बताए ।  
चैतदेखि नै परेको पानीले उत्पादनका लागि तयार भएका इँटा सबै माटोमा परिणत हुँदा बनाउँदै गरेका इँटा पकाउन फुकिएको आगो पनि निभाउनुपर्ने अवस्था सिर्जना भएको नेपाल इँटा व्यवसायी चिरञ्जीवी जिसीले बताउनुभयो । पानी पर्दा इँटा व्यवसायी मात्र नभएर यसमा काम गर्ने कामदार पनि अप्ठेरोमा परेपछि उनीहरूसमेत घर लाग्न बाध्य भएका बाराका फत्तर साहले बताउनुभयो ।-गोरखापत्र अनलाइन