ताजा अपडेट »

सोह्र वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

सोमबार, १३ जेठ २०७६

जेठ १३,

काठमाण्डौ । निर्माण सुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण सुरु भएको थियो । निर्माण सुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्यासमेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण सुरु भएको नौ वर्षपछि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताउनुभयो ।

कित्ता नं ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहनुभएका राधाकृष्ण विष्टले बताउनुभयो ।
मूलपानीको २९६ रोपनी जग्गामा हाल दुई वटा मैदान अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । माथिल्लो मैदानमा गत वर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकुद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताउनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकुदमा व्यावसायिक विकास हुनुपर्ने बताउनुभयो । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उहाँको भनाइ थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकुदको ‘हब’ को रूपमा विकास गर्न लागिएको बताउनुभयो । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्र्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उहाँले सुनाउनुभयो । नेपाली काङ्ग्रेसका २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एसियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएको बताउनुभयो । मैदानलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने गरी विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआउनु भएकोमा स्थानीयवासी नवराज आचार्यले दुःख व्यक्त गर्नुभयो । मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरुप रु. दुई लाख लिएर हिँडेका सुकुम्वासीले कब्जा जमाएका छन् ।