ताजा अपडेट »

सेजमा साढे तीन अर्बका उद्योग , शक्ति मिनरल्सद्वारा उत्पादन सुरु

आइतबार, १२ जेठ २०७६


जेठ १२,

भैरहवा । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा अहिलेसम्म साढे तीन अर्बका उद्योग दर्ता भएका छन् । विशेष आर्थिक क्षेत्र विकास समितिका अनुसार तीन अर्ब ५८ करोड १३ लाख १२ हजार ७२६ रुपियाँ लगानीका २१ उद्योग दर्ता भएका हुन् । भैरहवा सेजमा ४० करोड लगानीको शक्ति मिनरल्स प्रालिले पहिलो उद्योगका रूपमा व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।

यो उद्योगले दुई सय जनालाई रोजगारी दिने सञ्चालक एवं अध्यक्ष विनोदकुमार श्रेष्ठले बताउनुभयो ।
यस क्षेत्रमा चालू आर्थिक वर्षको सुरुदेखि २३ उद्योग दर्ता भए पनि न्युमेटल इन्डस्ट्रिज प्रालिले सेज छोडिसकेको छ । ८५ करोड लगानी गर्ने भन्दै दर्ता गरे पनि कम्पनीले सेजको मापदण्डअनुसार उत्पादन निर्यात गर्न नसक्ने कारण देखाउँदै सेज छाडेको विशेष आर्थिक क्षेत्र विकास समितिले जनाएको छ ।


त्यस्तै अन्य तीन कम्पनी पनि भैरहवा सेज छाड्ने तयारीमा रहेका छन् । छाड्ने तयारीमा रहेकामा प्रदीप कुमार अग्रवालको सिद्धार्थ पाइप प्रालि, राजेश कुमार अग्रवालको सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिज प्रालि रहेका छन् । चार उद्योग बाहिरिँदा सेजबाट ७८ करोडको लगानी बाहिरिने भएको छ । यो विशेष आर्थिक क्षेत्रमा स्ट्यानलेस स्टिल युटेन्सिल म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजको ट्रस्ट निर्माण भइरहेको छ भने अन्य पूर्वाधार तयार भइसकेको छ । त्यस्तै, एलईडी लाइट म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजले उद्योग स्थापनाको तयारी गरिरहेको छ । उद्योगले हाल मेसिन ल्याइरहेको सेज प्राधिकरणले जनाएको छ ।


त्यस्तै एस प्लास्टिक प्रोडक्टले टहरा बनाइरहेको छ भने पञ्चकन्या र सुगम नानो हर्बल इन्डस्ट्रिजले प्लट सफा गरिरहेका छन् । सेजमा निर इन्डस्ट्रिज प्रालि, ग्रो वेल इन्नोभेसन प्रालि, बुद्ध न्यापकिन एन्ड टिस्यु पेपर उद्योग, आईडीएस इलेक्ट्रिक प्रालि, पञ्चकन्या पीभीसी पाइप, स्टिल, क्रिएसन्स वल्र्ड वाईड, अरिबा एग्रिकल्चर उद्योग दर्ता भएका छन् । त्यस्तै नेसनल अर्गानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिङ इन्डस्ट्रिज प्रालि र कुराकानी अनलाइन प्रालिले सेजमा उद्योग दर्ता गरेका छन् । दर्ता भएका उद्योगहरू सम्झौताअनुसार सञ्चालनमा आए दुई हजार ३०७ जनाले रोजगारी पाउने छन् ।


ती उद्योगलाई झन्डै ७.५७२ मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । भैरहवा सेजमा ८१ वटा प्लट रहेका छन् । यसको कुल क्षेत्रफल ३४ हेक्टर रहेको छ । सेजमा साना, मझौला र ठूला उद्योग स्थापना हुने छन् । यसअन्तर्गत खाद्यसम्बन्धी, सुर्तीजन्य, जडीबुटीसम्बन्धी, लेदर, गार्मेन्ट, हाते कागज उत्पादन, हस्तकला, मेटल, स्पोर्टस वेयर, ज्वेलरी, प्लास्टिक, विद्युतीयजस्ता सामग्री उत्पादन गर्ने उद्योगहरू स्थापना हुने छन् ।खासगरी यी उत्पादनको सम्भावित बजारका रूपमा सार्क क्षेत्रलाई हेरिएको छ । त्यसमा पनि भारत नै मुख्य बजार रहने प्राधिकरणले जनाएको छ । 


विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाका अनुसार प्राधिकरणसँग गरेको सम्झौताबमोजिम उद्योगहरू छ महिनाभित्रै सञ्चालनमा आउनुपर्ने छ । सम्झौताअनुसार नभए प्राधिकरणले अनुमति खारेज गर्ने उहाँले जानकारी दिनुभयो । देश सङ्घीय संरचनामा गएसँगै सरकारले सातवटै प्रदेशमा एउटा सेज स्थापना गर्ने नीति लिएको छ । सोहीअनुसार काम अघि बढिरहेको प्राधिकरणले जनाएको छ । -लक्ष्मण पौडेल/गोरखापत्र अनालइन