ताजा अपडेट »

राष्ट्रिय काष्ठकला कार्यशाला जारी

आइतबार, १२ जेठ २०७६


जेठ १२,

बुटवल । ‘देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ भन्ने नराका साथ आयोजना भएको राष्ट्रिय काष्ठाकला कार्यशाला आज पाचौं दिन पनि जारी छ । रूपन्देहीको देवदह नगरपालिका–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र बुद्ध सामुुदायिक वन उपभोक्ता समूहको आयोजना, ड्रिम देवदह युनिटी फर चेन्जको प्रवद्र्धन र देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितिको मुख्य संरक्षणमा कार्यशाला आयोजना गरिएको हो ।

देवदहको पर्यटन विकासमा सामूहिक योजना, सहकार्य, सहभागितामूलक रूपमा योगदान पु¥याउनुका साथै एक पार्क एक विशेषता गर्न सहयोग पु¥याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष एवम् मूल आयोजक कमिटी सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए । आगामी वर्ष पनि अन्तर्राष्ट्रिय देवदह कला कार्यशाला आयोजना गर्ने सोच अगाडी सारिएको सन्दर्भमा देवदहमा पहिलो पटक आयोजना गरिएको ललितकला प्रज्ञा प्रतिष्ठानको दशौं राष्ट्रिय कार्यशालाको रूपमा भएको कार्यशालाले देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्ने बिश्वास गरिएको छ । एक दिन पर्यटकको बसाई देवदहमा होस् भन्ने उद्देश्यका साथ काम अगाडी बढाइएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर रानाले बताए ।

विश्वशान्तिका अग्रदुत भगवान गौतमबुद्धको मावली र ससुरालीस्थल दुवै रहेको देवदहमा आयोजना गरिएको कार्यशालामा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । ७ दिने कार्यशलामा १७ जना मूर्तिकारले २० वटा मूर्ति कुद्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य यम थापाले बताए । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर जेठ ८ गते बुधबार शुरु गरिएको कार्यशाला आगामि १६ गते विहिबार समापन गरिने छ ।