ताजा अपडेट »

भारतीय र नेपाली मिलेर सीमा खुलाउन आन्दोलन

आइतबार, ०९ फागुन २०७७
2 Shares


भैरहवा । नेपाल भारतको सीमा बेलहियामा दैनिक आन्दोलन र प्रदर्शन भैरहेको छ । कहिले भारतीय एसएसबीको ज्यादतीको बिरोधमा त कहिले सीमा नाका सहज पार्नुपर्ने मागसहित पर्यटन ब्यवसायीको आन्दोलनले नाका प्रभावित भई रहेको छ । सीमामा आवागमन सहज पार्नु पर्ने माग सहित बिगत ७ दिनदेखि आन्दोलनरत पर्यटन ब्यवसायीहरुको आन्दोलनलाई भारतीय ब्यपारी र नेपाली ब्यपारीहरुले समर्थन गरेका छन् । आन्दोलनको ७ औं दिन आइतबार दुवै देशका पर्यटन ब्यवसायीहरुले सीमानाकामा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

१ वर्षदेखि बन्द रहेको सीमा सरकारले अहिले सम्म नखोलेकोले यस क्षेत्रको पर्यटन र यस संग सम्बन्धित ब्यवसाय धराशायी बनेको ब्यवसायीहरुको गुनासो छ । भारत र नेपालको नाका पहिले जस्तै सुचारु गर्नु पर्ने माग सहित पर्यटन, होटल, ट्राभल्स तथा टूर्स ब्यवसायीहरु आन्दोलित भएका छन् । सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश शर्माले भारतीयहरुलाई नेपाली पक्षबाट नै अवरोध भएको बताउदै यसको निकासको लागी नेपालले नै पहल गर्नु पर्ने बताए । उनले आन्दोलन नरोकिने जानकारी दिए । भोली सर्वपक्षिय बैठक बसी आन्दोलनको स्वरुप तय गर्ने उनले जानकारी दिए । सरकार ब्यवसायीहरुको माग प्रति गम्भिर नभए मंगलबार देखी बेलहिया भित्रिने कुनै पनि गाडी आउन नदिने श्रेष्ठको भनाई छ ।

पर्यटन ब्यवसायीको आन्दोलनलाई समर्थन गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग ब्यपार संगठनले पनि सीमामा उनिहरुको साथ दिएको छ । सिद्धार्थ उद्योग ब्यपार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोरोनाले थला परेको पर्यटन ब्यवसाय पुनुरोत्थान गर्नको लागी भारतीय पर्यटक लगायत अन्यको लागी नाका खोल्नु पर्ने बताए । “राजनैतिक दलले लाखौ जनता सडकमा उतार्दा कोरोना त्रास नहुने र पर्यटक आउदा मात्र कोरोनाको डर हुने ?” भण्डारीले प्रश्न गरे।

नेपालमा ९० प्रतिशत पर्यटकहरु भारतीय हुने गरेको पर्यटन ब्यवसायीको भनाई छ । नेपाल तर्फ उनिहरुको गाडी आउन नदिए पछि अहिले बाध्य भएर भारतीयहरु भारत तर्फकै बिभिन्न गन्तब्यमा पुग्ने गरेको उनिहरुको भनाई छ । यो समस्या नेपालको मात्र नभएको भारतीय ब्यपारीहरुको भनाई छ । सीमा सहज नहुदा नेपाल जत्तिकै भारत पनि प्रभावित भएको उनिहरुको भनाई छ । नेपालको पर्यटनबाट आश्रित भारतको ब्यपार पनि ठप्प भएको गुनासो गर्दै उनिहरुले दुवै देशले पहल गरेर नाका नखोले संयुक्त आन्दोलन गर्ने चेतावनी दिए । नव ब्यपार मण्डल उत्तर प्रदेश, भारतका अध्यक्ष सम्साद खाँनले नेपालले नाका नखोल्दा भारतको ब्यपार पनि बर्बाद भएको बताए । उनले नाका खुले दुवै देशका ब्यपारीहरुलाई फाईदा हुने बताए ।

सरकारले नाका खुलेको बताए पनि यहाँबाट मुलुक प्रवेश पाउन ७२ घण्टाभित्र कोरोनाको पीसीआर परीक्षण गरिएको रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान यथावत छ । तर औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट दैनिक सयौं मलवाहक भारतीय गाडी र गाडीका स्टाफ, कामदार, सर्वसाधारण भने बिनापरीक्षण आइरहेका छन् । कोरोनाका कारण नाका सिल गरिएपछि थला परेको नेपालको पर्यटन क्षेत्र अहिले पनि उस्तै अवस्थामा छ । सीमाबाट पर्यटक वाहन र भारतीय पर्यटकले आफ्नो निजी सवारी साधन लिएर नेपाल आउन पाउने पहिलाकै जस्तो प्रावधान लागू नगरिएसम्म नेपालको पर्यटन व्यवसायले गति लिन नसक्ने होटल व्यवसायीकोे भनाइ छ ।

यस नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकको मूख्य गन्तब्य लुम्बिनी, पोखरा, काठमाडौं, चितवन सौराहा, पशुपतिनाथ, मुक्तिनाथ जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेका छन् ।कोरोना अघि बेलहियामा तेश्रो देशका पर्यटकहरुको पर्यटक बस बाहेक भारतीय गाडीहरुको लाम लाग्ने गरेको थियो । अहिले यहा ब्यवसायीक मालवाहक ट्रकहरु बाहेक अन्य कुनै पनि साधन आवत जावतमा रोक लगाईएको छ । यसले नाकाले अहिले पनि कोरोना अवश्थाकै झल्को दिई रहेको छ ।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सन्तोष पाण्डेले नाका खुलाउने बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराईएको बताएका छन् । उनले नाका सहज बनाउदै पर्यटन ब्यवसाय उकास्न सरकारले सहयोग गर्नु पर्ने बताए । उनले सरकारले दुवै देश बिच समन्वय गरि तत्काल नाका खुलाउन माग गरे ।

यसै बिच नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले पनि पर्यटन ब्यवसायीको आन्दोलनमा आफ्नो ऐक्यवद्धतता जनाएका छन् । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कांग्रेस नेता खाँणले यस बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । “लामो समयदेखि सीमा नाका ठप्प हुँदा प्राय उद्योग ब्यवसाय बन्द भएको र यिनिहरुलाई टिकाउन ब्यवसायीलाई हम्मे हम्मे परेको बताउदै सीमा नाका सञ्चालनका बिषयमा सरकार गम्भिर बन्न र यथासिघ सुरक्षित र ब्यवस्थित तरिकाले नाका सुचारु गर्न सरकारसंग जोडदार माग गर्दछु ।” खाँणद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

https://www.globalaawaj.com/archives/83558