ताजा अपडेट »

२०१९ मा यी दुई नयाँ गाडी नेपाल ल्याउँदै हुन्डाई

शुक्रबार, १० जेठ २०७६

जेठ १०,
काठमाण्डौ । हुन्डाईले विश्व बजारमा हरेक ३ महिनामा केही न केही सार्वजनिक गरिरहेको हुन्छ । नेपाली बजारमा पनि हुन्डाईका गाडी निकै चर्चित रहेका छन् । यस्तोमा कम्पनीले २०१९ मा नेपाली बजारमा कुन–कुन नयाँ मोडलका गाडी ल्याउँछ भन्ने चासो हुनु स्वभाविक हो । नेपालको लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले २०१९ मा नेपालमा दुई नयाँ मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । जसमा ब्रान्ड न्यू मोडल भेन्यू र अल न्यू ग्रान्ड आइ–१० रहने छ ।

हुन्डाई भेन्यू

हुन्डाईको नयाँ मोडल भेन्यू भारतीय बजारमा सार्वजनिक भइसकेको छ । सब कम्प्याक एसयूभीको रुपमा बजारमा आएको भेन्यू कोना तथा नयाँ सान्टाफेको जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट ग्रिल रहेको छ । एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, ह्वीलबेस २५०० एमएम रहेको छ । भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ । हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । 

साथै १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ । १.० लिटर ३ सिलिन्टर टर्बो चार्जड पेट्रोल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध हुने छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । नेपाली बजारमा भेन्यूको मूल्य करिब ३५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ ।

ग्रान्ड आइ–१० हुन्डाईले अल न्यू ग्रान्ड आइ–१० पनि यही वर्ष नेपाली बजारमा ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनीको वेस्ट सेलिङ ह्याचब्याक कार ग्रान्ड आइ–१० को थर्ड जेनेरेसन ल्याउने छ । भारतमा जुलाईको अन्तिमसम्ममा नयाँ ग्रान्ड आइ १० सार्वजनिक गर्ने योजना हुन्डाई इन्डियाले बनाएको छ । हुन्डाईले थर्ड जेनेरेसन ग्रान्ड आइ–१० मा निक्कै परिमार्जन गर्ने जनाएको छ । नयाँ ग्रान्ड आइटेनको फ्रन्ट डिजाइन फ्लुडिक डिजाइन ल्यांग्वेजमा हुनेछ । त्यस्तै इन्टेरियमा पनि निक्कै परिर्वतन गर्ने जनाएको छ । दोस्रो जेनेरेसनको ग्रान्ड आइटेनको तुलनामा तेस्रो जेनेरेसनमा स्पेस ठूलो हुनेछ । ड्यासबोर्डमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एयरक्राफ्ट इन्सपायर्ड एयर भेन्ट समेत यसमा हुनेछ ।

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् । नयाँ ग्रान्ड आइटेनमा डियूल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, स्पीड सेन्सेटिभ डोर लक, हाइस्पीड अलर्टलगायत सुरक्षा विशेषता हुने छन् । नयाँ प्रदूषण मापदण्ड अनुसार बीएस–६ युक्त १.२ लिटर इन्जिनमा आउने छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड स्मार्टअटो एएमटी हुनेछ । नयाँ ग्रान्ड आइ–१० ले पुरानो ४ स्पीड अटोमेटिक ट्रान्समिसनलाई विस्थापित गर्नेछ ।