जेठ ९,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर ५ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख उमाकान्त झाले आज बिहिबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पञ्च वर्षिय योजनामा आधारित नीति तथा कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारी बीचको सहकार्यलाई जोड दिएको छ । प्रदेशको आर्थिक विकासमा जोड दिइएको नीति तथा कार्यक्रमले कृषि उत्पादन, औद्योगिक विकास तथा जलविद्युतको उत्पादन र सौर्य उर्जा उत्पादनलाई विशेष जोड दिएको हो ।
‘गरौ व्यापार ,कृषि यसैबाट हुन्छ समृद्धि’ भन्ने नाराका साथ कृषिलाई प्रोत्साहन दिएको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक कृषि प्रयोगशाला स्थापनाका लागि योजना अघि सारेको छ । ‘फलफूल खाऔं स्वस्थ रहौं’भन्ने नाराका साथ फलफूल उत्पादनलाई जोड दिँदै सरकारले जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषि विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै समुदायमा आधारित पशु तथा कृषि प्रजनन् केन्द्रको स्थापना, सित भन्डारलाई जोड दिएको छ ।
औद्योगिक विकासलाई प्रदेशको विकासको आधार मानिएको नीति तथा कार्यक्रममा स्वदेशी लगानी र रोजगार तथा स्वरोजगार सिर्जन गर्ने उद्योगका लागि सरल कर्जा तथा निश्चित प्रतिशत व्यजदरमा क्रण प्रवाह गर्ने उल्लेख गरिएको छ । ठुला उद्योग सम्म पुुग्ने सडकको स्तरोन्नति तथा कालो पत्रे गर्ने, खानी उत्खनन्का लागि नीति निर्माण गर्ने लगायतका महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा परेका छन् ।
प्रदेशको विद्युत उर्जा उत्पादन तथा वितरणलाई विशेष प्राथमिकताका साथ हेरिएको नीति तथा कार्यक्रममा केन्द्र सरकारसँग सहकार्य गर्दै विद्युत उत्पादन र प्रसारणमा विकास गर्ने योजना लिइएको छ । सरकारले ५ वर्ष भित्रमा ३ सय मेगा वाट सोर्य उर्जा उत्पादन गर्ने महत्वकांक्षी योजना लिएको छ । त्यस्तै सिद्धबाबा वाईपास बाटो निर्माण,प्रदेश अस्पतालको स्तरोन्नती महानगरर पूर्वाधार विकास कार्यक्रम, ३ वर्ष भित्र सबै जनतालाई आधारभूत खानेपानी तथा विद्युतको व्यवस्था, प्रत्येक जिल्लामा कम्तिमा २ वटा नमुना वन विकास कार्यक्रम सञ्चालन, प्रत्येक जिल्लामा कम्तिमा १ वटा फोहर मैला प्रसोधन केन्द्र लगाएत निर्माणका लागि अनुसन्धान थालिने छ ।
३ वर्ष भित्र कम्तिमा १ निर्वाचन क्षेत्र एक उद्योग ग्रामको कार्यक्रमलाई अगाडि बढाइने छ ।
स्वदेशी लगानी तथा रोजगार सिर्जना गरेका उद्योगहरुलाई सरल कर्जा तथा निश्चित प्रतिशत व्याजमा अनुदान प्रदान गरिने छ । ५ वर्ष भित्रमा कम्तिमा ३ सय मेगावाट विद्युत उत्पादन गरिने छ । बिहिबार सार्वजनिक गरिएको प्रदेश नं.५ सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद्ले भने पुरानै योजना भएको बताउँदै कार्यान्वयनमा समस्या हुने भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया