दाङ । दाङको घोराही स्थित गोगलीमा सुविधा सम्पन्न अस्पतालको निर्माण हुने भएको छ । सञ्जिवनी ग्रुप अफ कम्पनीजले सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडीज एण्ड टिचिङ हस्पिटल प्रालीको निर्माण कार्यको शिलान्यास भएको छ ।
अस्पतालको नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र सञ्जिवनी ग्रुप अफ कम्पनीजमा अध्यक्ष खुमा अर्यालले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले स्वास्थ्य क्षेत्रको विकासको लागि सीप भएको मात्र हैन असल सोंच भएको चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए । सैगरी नेता रिजालले नेपालको स्वस्थ्य क्षेत्र चुनौतीपूर्ण रहेको बताए । ‘स्वास्थ्य सेवा सहज र सुलभ बनाउन सकेको अवस्था छैन । स्वास्थ्य क्षेत्र केही उपलब्धीपूर्ण देखिए पनि अब आउने दिनमा स्वास्थ्य तथा चिकित्सा विज्ञानमा भएको विकासलाई माथि उठाउनका लागि यस्ता नीजि क्षेत्रको सक्रियताले महत्वपूर्ण भूमिका खेल्छ ।’ उनले भने ।
ग्रुपका अध्यक्ष अर्यालले नेपालगञ्ज र बुटवलमा सुविधा सम्पन्न अस्पताल भए पनि त्यसको बीचमा पर्ने राप्ती क्षेत्रमाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा साविकको राप्ती अञ्चलका र आसपासका जिल्लालाई सहज हुने गरि योजना बनाइएको बताए । उनले भने, ‘यो शिलान्यास मात्र हैन अबको एक वर्षमा अस्पताल निर्माण भएर अर्को वर्ष आजकै दिन निर्माण सम्पन्न गर्छौं, निर्माण सम्पन्न मात्र हैन, त्यसमा सबै किसिमका विशेषज्ञ सेवा हुनेछन्’ उनले भने, ‘सेवा सुरु गरेको पहिलो दिनबाटै क्रिटिकल केयरको लागि सय वेडको व्यवस्था गर्नेछौं ।’
इन्स्टिच्युटले पहिलो चरणमा एक वर्ष भित्र सुविधा सम्पन्न तीन सय शय्या क्षमताको अस्पताल निर्माण गरि सेवा सुरु गर्ने र तीन वर्ष भित्रै पाँच सय शय्या पुराउने ग्रुपका महाप्रबन्धक सन्तोष कुमार खनालले जानकारी दिए । खनालले अस्पताल विशिष्टकृत सघन कक्ष सहितको सुविधा हुने र पहिलो चरणमै दैनिक दुई हजार बिरामीलाई अन्तरंग र बाहिरंग सेवा प्रदान गरिने गरि संरचना तयार गरिने जानकारी दिए ।
सय शैय्याको आइसियु, एनआइसियु, पिआइसियु लगायतको सुविधा सहित विभिन्न विभाग मार्फत उपचारको सुविधा हुने उनले बताए । ‘हामीले सुरुदेखि नै जटिल भन्दा जटिल रोगहरूको अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा सहितको उपचारको व्यवस्था मिलाउँछौ’ उनले भने, ‘यस क्षेत्रको आकस्मिक उपचारको लागि यो अस्पतालको सेवा प्रभावकारी बनाउन सबै प्रयास यसमा खर्चन्छौं ।’ उनले कोभिड जस्ता महामारीजन्य रोगको व्यवस्थापनमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएकोले त्यस्ता अभाव पुरा गर्ने अस्पताल सन्चालनको योजना अगाडि सारेको बताए ।
उनले नेपाल सरकारसँग समन्वय गरेर विपन्न नागरिक कार्यक्रम, स्वास्थ्य बिमा, आमा सुरक्षा कार्यक्रम, हेमो डाइलासिस, हेड एण्ड स्पाइलन इन्ज्युरी लगायतमा निशुल्क र सर्वसुलभ सेवा दिने योजना बनाएको बताए । कुल साढे दुई अर्ब लागतमा निर्माण गरिन लागेको अस्पतालले सात सय जनालाई प्रत्यक्ष रोजगारी पाउने महाप्रबन्धक खनालले जानकारी दिए । हाललाई अस्पताल मात्रै संचालनमा ल्याए पनि भविश्यमा शिक्षण अस्पतालको रुपमा योजना अगाडि बढाउने बताए ।
अस्पतालबाट विशेष गरि लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुम, कपिलवस्तु, अर्घाखाँची लगायतका नागरिकले फाइदा लिने छन् । चार विघा क्षेत्रफल ओगट्ने अस्पताल क्षेत्रमा अस्पतालको भवन दुई लाख ९८ हजार स्क्वायर फुटमा निर्माण हुनेछ ।

सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी, पुर्व मन्त्री दिपक गिरी, स्थानिय निकायमा प्रतिनिधिहरु, स्थानिय संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, युनिभर्सल मेडिकल कलेजका लेखा नियन्त्रक सिए राजु बस्नेत, गण्डकी मेडिकल कलेज, पोखराका प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठ, संजीवनी मेडिकल कलेज बुटवलका कार्यकारी प्रमुख दिपक रोका, संजीवनी ग्रुप अन्तर्गत अन्य कम्पनिका प्रमुख तथा प्रतिनिधिहरु लगाएत स्थानियवासीहरुको सहभागिता रहेको थियो ।
अस्पतालको लगानीको ७० प्रतिशत वित्तिय व्यवस्थापन सिभिल बैंक लिमिटेडले गर्दैछ । अध्यक्ष अर्यालले बैंकले लगानीको प्रतिवद्धता जनाइसकेकोले लगानीको कारण निर्माण कार्यमा समस्या नपर्ने बताए ।
प्रतिक्रिया