जेठ ९,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुुरु भएको छ । कार्यक्रम अन्तर्गत आगामी ५ वर्षमा ५ लाख युवालाई रोजगारी दिनेगरी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रदेश ५ को बुटवलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री स्वरोजगार कार्यत्रमको आरम्भ गर्दै मन्त्री गोकर्ण विष्टले सबै स्थानीय तहलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम तयार गर्न निर्देशन दिएका छन् ।
उनले नीति तथा कार्यक्रमलाई पूर्ण रूपले पालना गर्दै हरेक वर्ष स्थानीय तहले आफ्ना तहमा रोजगारीका क्षेत्र पहिचान गरी रोजगार बनाउनुपर्ने बताए । मन्त्रीको उपस्थितिमा प्रदेश ५ का १०९ वटै स्थानीय तहले बुधबार नै त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न चालु वर्षका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रकम उपलब्ध गराएको छ । हरेक स्थानीय तहलाई ससर्तसहित उपलब्ध भएका त्यही रकमबाट चालु वर्षमा देशभरका १ लाख ६ हजार ८ सय ७२ जनालाई रोजगारी दिने उनले बताए । ‘सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ उनले भने ।
उनले देशभर बेरोजगार जनशक्तिको अवस्था अध्ययन भइरहेकाले त्यसलाई विश्लेषण गरेर आगामी वर्षको कार्यक्रम तय हुने बताउँदै सरकारले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएर यसै वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यत्रम सुरु गरेको बताए । कार्यविधि अनुसार ७५ प्रतिशत ज्यालामा खर्चिनु पर्ने छ भने २५ प्रतिशत अन्यमा खर्चिनु पर्ने छ । रोजगार कार्यक्रमले विशेषगरी गरिब जनशक्तिलाई प्राथमिकता दिनुपर्ने बताउँदै मन्त्री विष्टले सबै स्थनीय तहलाई गम्भिर रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले धेरै रोजगार सिर्जना गर्ने र प्रदान गर्ने रोजगार संयोजक र तहलाई सम्मान गरिने समेत जानकारी गराए । उनले सबै स्थानीय तहमा रोजगार संयोजक पठाइएको बताउँदै आगामी वर्ष प्राविधिक र अनुगमनका लागि पनि जनशक्ति पठाइने बताए ।
प्रतिक्रिया