ताजा अपडेट »

स्थायी बन्ध्याकरण : पुरुषको रुची कम, दबाबमा महिला

विहीबार, ०९ जेठ २०७६

जेठ ९,
काठमाण्डौ । नेपालमा स्थायी बन्ध्याकरण गराउनेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या ५३ प्रतिशतले कम रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गत वर्ष मुुलुकभर २५ हजार ९ सय १८ जनाले स्थानीय बन्ध्याकरण गराएकोमा पुरुषको सङ्ख्या मात्र ६ हजार एक सय अर्थात् २३ प्रतिशत रहेको छ ।

जसमा महिलाको सङ्ख्या १९ हजार ७ सय ४० अर्थात् ७६ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर आरपी बिच्छाले महिलाको भन्दा पुरुषलाई बढि महत्व दिने भएका कारणले पुरुषको सङ्ख्यामा कमि आएको बताए । बन्ध्याकरणका लागि महिलाले मिनिल्याप र पुरुषले भ्यासेक्टोमी गर्ने गरेका छन् ।

स्थायी बन्ध्याकरण महिलालाई भन्दा पुरुषलाई सजिलो भएपनि महिलाले मात्र बन्ध्याकरण गराउनुपर्छ भन्ने पूरानो मान्यताका कारण महिलाको सङ्ख्या बढ्दै गएको डा.विच्छाले बताए । स्थायी बन्ध्याकरणका लागि पुरुषमा अझैं सचेतनाको कमी भएको र केहि लक्षित समूदायले बन्ध्याकरण गराउनु हुँदैन भन्ने मान्यताले पनि पुरुषको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ ।