ताजा अपडेट »

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

सोमबार, ०३ फागुन २०७७

मेलबोर्न। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए ।महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् । क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।